हाफ म्याराथनको उपाधि धादिङकी रसिलाले जितिन्

रासस

सोमबार, २४ फागुन २०७७, १४ : ३८
हाफ म्याराथनको उपाधि धादिङकी रसिलाले जितिन्

तनहुँ । व्यास नगरपालिका कार्यालयद्वारा दमौलीमा अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा आयोजित प्रथम व्यास नगर महिला खुला हाफ म्याराथन प्रतियोगितामा धादिङका २१ वर्षीया रसिला तामाङ प्रथम भएकी छिन्  ।  

दमौलीको व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको करीब २१ किलोमिटर दूरीको दौडमा उहाँले एक घण्टा ४९ मिनेटमा उक्त दूरी पार गर्दै प्रथम भएकी हुन् । 

त्यसैगरी खोटाङ अ‍ैसेली गाउँपालिकाकी प्रिया राईले एक घण्टा ४९ मिनेट एक सेकेण्डमा पार गर्दै द्वितीय, सोलुखुम्बुकी अनिता राईले एक घण्टा ५५ मिनेट ३२ सेकेण्डमा पार गरी तृतीया भएकी छिन् ।

त्यसैगरी चौथो नेपाली सेना कालिकोटकी विषेशता ऐडी, पाँचौँ भानु माध्यमिक विद्यालयकी विद्यार्थी नम्रता गुरुङ, तनहुँ ऋषिङकी सीता रानाभाट छैटाँ, भक्तपुरकी आइसा श्रेष्ठ सातौँ र ओखलढुङ्गाकी पद्मकुमारी सुनुवार आठौँ हुनु भए । 

प्रतियोगितामा विजयी हुनेले प्रथम पुरस्कार रु ४१ हजार ७७, द्वितीय पुरस्कार रु ३१ हजार ७७ र तृतीय पुरस्कार रु २१ हजार ७७ प्रदान गरिएको छ । त्यसैगरी पाँच जनालाई रु ११ हजार ७७ का दरले सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख मिरा जोशीलगायतले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे । 

नगरपालिकाले खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन क्षेत्रको विकास गर्ने उद्देश्यले पहिलो पटक म्याराथन प्रतियोगिताको आयोजना गरेको हो । केही समयअघि मात्रै नगरपालिकाले व्यास–५ मानहुँकोटदेखि शहीदग्राम पुलिमराङसम्मको करीब ४२ किलोमिटर दौड प्रतियोगिता सम्पन्न गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस