उत्पादकत्व वृद्धि तथा रोजगार सृजनामा निजी क्षेत्रलाई सरकारले सहजीकरण गरिदिनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

सफल खबर संवाददाता

सोमबार, २४ फागुन २०७७, १३ : ५९
उत्पादकत्व वृद्धि तथा रोजगार सृजनामा निजी क्षेत्रलाई सरकारले सहजीकरण गरिदिनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

चितवन । नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रपसाद ढकालले उत्पादकत्व वृद्धि तथा रोजगार सृजनामा निजी क्षेत्रलाई सरकारले सहजीकरण गरिदिनुपर्ने बताएका छन् । सोमबार उद्योग वाणिज्य संघ चितवनको ५४ आँै वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले राज्यका तर्फबाट आधारभूत पूर्वाधार निर्माण अनिवार्य रूपमा समयमै गरिदिए स्वदेशी तथा विदेशीहरू ठूलाठूला पूर्वाधारमा लगानी गर्न तयार रहेको समेत बताए । 

‘राज्यले लिने मात्र होइन दिने पनि हो भन्ने कुरालाई व्यवहारमा उतार्नुपर्छ’ उनले भने, ‘कोभिड वा अन्य आइपर्ने संकटमा राज्यले नीतिगत व्यवस्था गरेर सहजीकरण गर्नुपर्छ ।’ ढकालले नजिकै रहेको मौलाकालिका मन्दिरमा जान केवलकार शिलान्यासको चरणमा रहेको बताउँदै यसमा लगानी साझेदारी गर्न आफू तयार रहेको जानकारी दिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफुले निजी क्षेत्रको सहकार्य र समन्वयमा काम गरिरहेको बताइन् । उनले उत्पादकत्व वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसतर्फ केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह गरिन् । प्रमुख दाहालले देशमै पहिलो पटक भरतपुर महानगरपालिकाले पिपिपी अवधारणा बमोजिम २ अर्ब बढीको लागतमा व्यावसायिक भवन निर्माणको लागि निजी क्षेत्रसंगको सम्झौता अन्तिम  चरणमा रहेको बताउँदै यो भवन समग्र भरतपुरको पहिचानमा महत्वपूर्ण धरोहर हुने विश्वास व्यक्त गरिन् । 

उनले भरतपुरमा विकास निर्माणको काम तिव्र गतिमा भइरहनुले पनि भरतपुर महानगरपालिकाको निजी क्षेत्रसंगको सम्बन्ध सहयोगी रहेको छ भन्ने प्रमाणित गरेको बताइन्  । भरतपुर महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा करका दर र दायरा बढाएको बताउँदै उनले व्यवसाय करबाट प्राप्त हुने रकमबाट निश्चित प्रतिशत कर निजी क्षेत्रको क्षमता  विस्तारमा खर्च गर्ने परिपाटी सुरू गरिएको समेत बताइन् । प्रमुख दाहालले महानगरपालिकाले साना, ठूला तथा मझौला उद्योगहरुको समुचित व्यवस्थापनका लागि वडावडामा साना स्तरका उद्योग ग्राम निर्माणको नीति लिएको बताउँदै यसै आर्थिक वर्षमा २ वटा वडामा लघुु उद्योग ग्राम निर्माणको काम सुरू गरि सकिएको बताइन् । उनले पुर्वाधार विकास र व्यवस्थित सडक संजाल निर्माण नै सबै विकासको आधार हुने अपेक्षा सहित व्यवस्थित सडक संजालको विकास गरेर कनेक्टिभिटी मार्फत समग्र विकासलाई जोड्न आफू प्रतिवद्ध रहेको बताइन् ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले निजी क्षेत्रको भूमिका राष्ट्रको सर्वाङ्गीण विकासमा महत्वपूर्ण हुने बताउँदै निजी क्षेत्रले पनि आफूलाई प्रतिस्पर्धी र क्षमतावान बनाउँदै लैजानुपर्ने बताए । प्रमुख डल्लाकोटीले देशमै रूग्ण र जीर्ण अवस्थामा रहेका उद्योगहरु संचालन गरी रोजगारी सृजनाको वातावरण बनाउन आग्रह समेत गरे । 

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको समग्र विकासमा भए गरेका कामहरूको चर्चा गर्दै अब सबैको ध्यान विद्युतको अधिक खपत गर्नेगरी सोही बमोजिमका औद्योगिक वातावरण बनाउनुपर्ने बताए । घिसिङले  विद्युुतीय सवारी साधनको उपयोग बढाउनुपर्ने भन्दै भान्छामा हुने ग्यासको प्रयोगलाई घटाउन इन्डक्सन चुलोको प्रयोगलाई बढाउने अभियान नै चलाउन आग्रह गरे ।

वरिष्ठ व्यवसायी रामचन्द्र संघाइले देशको बिगँ्रदो राजनीतिक वातावरणले औद्योगिक वातावरण विग्रेको बताउँदै असल व्यावसायिक वातावरणका लागि स्थिर सरकार र सरल राजनीतिक वातावरण सृजना हुनुपर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष राजु श्रेष्ठले संघको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।


 

प्रतिक्रिया दिनुहोस