बेरोजगार पहिचान गर्दै खोटेहाङ र जन्तेढुङ्गा

रासस

सोमबार, २४ फागुन २०७७, १३ : ५७
बेरोजगार पहिचान गर्दै खोटेहाङ र जन्तेढुङ्गा

सांकेतिक तस्विर

खोटाङ । खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि बेरोजगार व्यक्तिको सूचीकरण गर्ने काम शुरु गरेको छ ।

स्थानीय तह मातहत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा योगदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा आबद्ध भएर सार्वजनिक विकास निर्माणमा सहभागी हुन इच्छुक बेरोजगार व्यक्तिको सूचीकरण शुरु गरिएको हो ।

गाउँपालिकाले रोजगारीको हकसम्बन्धी ऐन २०७५ तथा सोको नियमावली र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशनबमोजिम आर्थिक वर्ष २०७८/०७९ का लागि फागुनभित्र बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन र लाभग्राही परिचयपत्र लिन इच्छुक व्यक्तिलाई आग्रह गरेको छ ।

आफ्नो स्थायी बसोबास रहेको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत भएर लाभग्राही परिचयपत्र लिन सकिने गाउँपालिकाले जनाएको छ । 

लाभग्राही परिचयपत्र लिन नागरिकताको फोटोकपी र एकप्रति फोटोसहित वडा कार्यालयमा निवेदन दिन सकिने खोटेहाङ गाउँपालिकाले गत फागुन १३ गते जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

जन्तेढुङ्गा गाउँपालिकाले पनि बेरोजगार न्यूनतम रोजगारीमा संलग्न हुन चाहने विपन्न तथा जीवनयापन जोखिममा परेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नागरिकलाई सूचीकृत हुन फागुनभित्र निवेदन पेश गर्न सूचना जारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस