रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र बन्दै

रासस

आइतबार, २३ फागुन २०७७, १५ : २८
रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र बन्दै

लुम्बिनी । रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणाले अब पूर्णता पाउने भएको छ । नेपाल सरकारले २०७२ सालमा प्रत्येक प्रदेशमा कम्तीमा एक÷एक हजार विगाहा क्षेत्रफलमा ठूला औद्योगिक क्षेत्र स्थापना गरेर ती औद्योगिक क्षेत्रबाट प्रत्यक्षरुपमा एक लाख र अप्रत्यक्ष पाँच लाख जनालाई रोजगारी दिने नीति बनाएको थियो । 

यसरी सबै प्रदेशमा आर्थिक विकासको सन्तुलन मिलाउने उद्देश्यका साथ औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरे अनुरुप मोतिपुर औद्योगिक क्षेत्रमा ९४६.४६ विगाहामा पनि बिस्तृत अध्ययन प्रतिवेदन डिपिआर सम्पन्न गरी स्थापनाको शुरुवात भएको हो । 

सरकारले पाँच वर्षअघि रुपन्देहीका साविक बुटवल नगरपालिका, टिकुलीगढ, अनन्दवन, फार्साटिकर हाल बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउपालिकाअन्तर्गतका केही क्षेत्रलाई मोतिपुर औद्योगिक क्षेत्रका रुपमा घोषणा गरी काम अघि बढाएको छ । काम अघि बढेसँगै स्थानीयमा भने खुसीयाली छाएको छ । 

नेपाल सरकारले २०७२ साल चैत १ गते यी क्षेत्रमा पर्ने ८१३ बिगाहा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान गर्दै औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरेको थियो । औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्र स्थापना हुने चार किल्लाभित्र परेका अब्यवस्थित बस्तीलाई उचित ब्यवस्थापनसहित त्यसको बिस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको जनाएको छ ।

औद्योगिक क्षेत्रलाई पाँच भागमा विभाजन गरी निर्माण गरिने योजना औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडले अघि सारेको छ । यसअन्तर्गत पहिलो चरणमा मोतिपुर क्षेत्रमा तत्काल निर्माण प्रक्रिया अघि बढाइने र अन्य क्षेत्रमा सार्वजनिक–निजी–साझेदारी अवधारणअनुसार पूर्वाधार निर्माण गर्ने लक्ष रहेको पनि बताइएको छ । 

पहिलो चरणमा निर्माण प्रारम्भ हुने मोतिपुर क्षेत्रको ‘बि’ ब्लकको तत्कालै निर्माण शुरु गरिने औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बताए । यो क्षेत्रको ३६७ बिगाहा जमिनको बिस्तृत अध्ययन प्रतिवेदन गर्दा २६२ वटा प्लट कायम गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस