व्यावसायिक फर्ममा महिलाको स्वामित्व बढ्दै

रासस

आइतबार, २३ फागुन २०७७, १२ : २५
व्यावसायिक फर्ममा महिलाको स्वामित्व बढ्दै

झापा । झापाको दमकमा थपिएका नयाँ व्यावसायिक फर्ममा महिलाको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमण भए पनि जिल्लाको ठूलो व्यापारिक क्षेत्र रहेको दमकमा पुरानै लयमा दैनिकी फेरिएसँगै नयाँ व्यावसायिक फर्ममा महिलाको सङ्ख्या बढी देखिएको हो ।

दमक उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबीच चालू आर्थिक वर्ष २०७७/०७८ को आठ महिनाका अवधिमा मात्रै १४० नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् । तीमध्ये ७५ प्रतिशत बढी महिलाका नाममा दर्ता भएका छन् ।

सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले कोभिडपछि पछिल्लो समय विस्तारै पुरानै लयमा आर्थिक चलायमान बन्दै गएपछि दमकमा नयाँ व्यवसायमा महिलाको आर्कषण बढ्दै गएको बताए । कानूनीरुपमै सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको तथ्य यसबाट प्रष्ट भएको अध्यक्ष श्रेष्ठको बुझाइ छ ।

नीतिगतरुपमा समेत महिला उद्यमी व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाको नीतिका कारण पनि व्यावसायिक फर्म महिलाका नाममा सञ्चालन हुने क्रम बढेको हुनसक्ने श्रेष्ठले बताए ।

थपिएका फर्ममा अधिकांश होटल तथा खाजा घरसँगै फेन्सी तथा शृङ्गारका साधन, किरानालगायत व्यवसाय थपिएका सङ्घका कर्मचारी प्रकाश दाहाल बताउछन् । उनका अनुसार चालू आवमा हालसम्म सङ्घका सदस्यका रुपमा रहेका कूल ६२४ व्यावसायिक फर्म नवीकरण भएका छन् ।

सङ्घले १४० नयाँ फर्म दर्ता गरेबापत कूल रु एक लाख २५ हजार र ६२४ फर्म नवीकरण गरेबापत कूल रु दुई लाख २४ हजार शुल्क सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस