नवलपरासी बर्दघाट सुस्ता पश्चिमको महलपोखरीमा सामुदायिक घरबास सञ्चालन हुँदै

रासस

आइतबार, २३ फागुन २०७७, १२ : १६
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको महलपोखरीमा सामुदायिक घरबास सञ्चालन हुँदै

भजनी । ग्रामीण पर्यटन प्रवद्र्धनका लागि नवलपरासी बर्दघाट सुस्ता पश्चिमको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय सम्भावना रहेको महलपोखरी क्षेत्रमा सामुदायिक घरबास होमस्टे सञ्चालन गरिने भएको छ । घरवास सञ्चालनका लागि अहिले धमाधम आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । 

सुनवल नगरपालिका–४ स्थित महाभारत र चुरे पर्वतको सङ्गमस्थलमा पर्ने महलपोखरी समुद्र सतहदेखि एक हजार २३ मिटर उचाइमा पर्दछ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवल बजारबाट ११ किलोमिटर उत्तरतर्फ पहाडी कच्ची बाटो छिचोल्दै पुग्न सकिने यो ठाउँ पर्यटकीय दृष्टिकोणले रमणीय, सुन्दर तथा आकर्षक छ ।

परापूर्वकालदेखि नै मगर जातीको बसोबास रहेको सो स्थलमा सुनवल नगरपालिकाको पहलमा घरबास सञ्चालनको तयारी गरिएको हो । पच्चीस घरधुरीको बसोबास रहेको सो क्षेत्रमा शुरुमा पन्ध्र घरमा घरबास सेवा प्रदान गर्ने तयारीका साथ अहिले धमाधम पूर्वाधार विस्तारको काम भइरहेको वडा नं ४ का वडाध्यक्ष वीरबहादुर गुरुङले  जानकारी दिए ।

घरबास सञ्चालनका लागि यहाँका स्थानीयवासीलाई दुई चरणमा गरी एक÷एक महिनाको तालीम सञ्चालन गरी क्षमता अभिवृद्धि गरिएको छ । अहिले घरबासको सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने घरबास सेवा सञ्चालन हुने घरमा आवश्यक संरचना बनिरहेको वडाध्यक्ष गुरुङले बताए। 

“सामुदायिक भवन निर्माणका लागि नगरपालिकाबाट यस वर्ष रु दश लाख विनियोजन गरिएको थियो, गाउँलेको श्रमदान समेतमा यो निर्माण भइरहेको छ, घरबास सञ्चालन हुने घरमा दुई कोठामा चार बेड, वाथरुम, शौचालय निर्माण भइरहेका छन्”, उनले भने । नगरपालिकाले गत वर्ष पनि रु पाँच लाख विनियोजन गरी काम शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस