अमलेखगञ्ज –लोथर पाइपलाइन  जडान  कार्यको अध्ययन सम्पन्न

रासस

आइतबार, २३ फागुन २०७७, १२ : १०
अमलेखगञ्ज –लोथर पाइपलाइन  जडान  कार्यको अध्ययन सम्पन्न

वीरगञ्ज । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा  बुझाइएको छ । 

दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी— अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि सरकारले सो अध्ययन पुरा गरेको हो । 

अध्ययन टोलीका प्राविधिकले सो पाइपलाइनलाई कसरी अगाडि बढाउने, कति खर्च लाग्ने, निर्माण गर्न कति समय लाग्नेलगायतका कामको प्रतिवेदन मन्त्रालयलाई बुझाइ सकिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । 

बाराको अमलेखगञ्जदेखि चितवनसम्मको ६९ किलोमिटर लम्बाइ रहेको सो पाइपलाइनको  निर्माण गर्न करीब रु १३ अर्ब खर्च हुने अनुमान गरिएको छ । लोथरमा सो पेट्रोलियपदार्थ भण्डारण गर्न एक लाख किलोलिटर क्षमता भएको अत्याधुनिक पेट्रोल ट्याङ्की निर्माण गर्ने बताइएको छ ।  
 
मोतिहारीदेखि अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइपलाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने छन् ।  यसको लागि नेपाल तथा भारत सरकारबीचमा कुराकानी भई स्वीकृतिसमेत भइसकेको छ ।  अब प्राबिधिक प्रतिवेदन माथि मन्त्रालयमा छलफल भई काम अगाडि बढ्ने छ ।
 
नेपाल आयल निगम र भारतीय आयल निगमका संयुक्त कार्यदलले मन्त्रालयमा पेश गरेको अनुमानित लागतबारे टुङ्गो लाग्न सकेको छैन । रु १३ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

यसअघि २०७६ भदौ महिनादेखि भारतको मोतिहारीबाट सो पाइपलाइन मार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउने गरेकोमा अब एक वर्षभित्र सोही पाइपलाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य शुरु भएको निगम प्रदेश २  प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस