नेकपा प्रचण्ड–माधव पक्षका नेताहरु सभामुखसंग परामर्श गर्दै

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, ११ : १८
नेकपा प्रचण्ड–माधव पक्षका नेताहरु सभामुखसंग परामर्श गर्दै

file Photo

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु सभामुख अग्नि प्रसाद सापकोटासँगको परामर्शमा जुटेका छन् । आइतबार बिहान नेकपा संसदीय दलक प्रमुख सचेतक देव गुरुङको कार्यकक्षमा अध्यक्षद्वय  प्रचण्ड र माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीच छलफल भएको थियो । त्यसलगत्तै नेताहरु सभामुख सापकोटासँग परामर्शका लागि उनको कार्यकक्षमा पुगेका हुन् ।   

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने बताएको नेकपा प्रचण्ड–माधव पक्ष त्यसबारे अझै अनिर्णित बनेको अवस्थामा उनीहरु सभामुखसँग परामर्शमा जुटेका हुन् । शुक्रबार आफू पक्षीय संसदीय दलको बैठक बसेर सो पक्षले आज बस्ने प्रतिनिधि सभा बैठक अघिनै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्षसहित राजीनामा नगरे अविस्वास प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो । 

यस्तै नेकपा विवादपछि सो पार्टीमा संसदीय दलको नेता र प्रमुख सचेतक दुई–दुई जना छन् । प्रचण्ड–माधव पक्षले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई बनाएको छ भने ओली पक्षले प्रचण्ड–माधव पक्षमा लागेको प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई तोकेको छ ।
यस्तो अवस्थामा आज बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले दलको नेता कसलाई मान्यता दिने हुन् भन्ने विषय जटिल बनेको छ ।
 

प्रतिक्रिया दिनुहोस