नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्छ: मन्त्री तामाङ

रासस

आइतबार, २३ फागुन २०७७, ०८ : ०१
नामजस्तै  कामको परिणाम देखाउन सक्नुपर्छ: मन्त्री तामाङ

बनेपा । युवा तथा खेलकूदमन्त्री दावा तामाङले नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्ने बताएका छन्  । युवा तथा खेलकुद मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सूचनाको हकसम्बन्धी गोष्ठीमा उनले मातहतका कर्मचारीलाई युवाहरुले नामजस्तै काम दिन युवामा ऊर्जा भएकाले त्यतातर्फ लाग्नुपर्ने बताए ।

“मिटिङ राम्रो हुनका लागि इटिङ राम्रो हुनुपर्छ”, उनले भने , “काम गर्नका लागि प्रायःजसो बजेटको अभाव र समस्या भएको भन्ने गुनासोलाई समाधान गर्नका लागि अर्थमन्त्रालय र खेलकूद मन्त्रालयबीचको समन्वयमा आवश्यक व्यवस्थापन गर्न पहल गर्नेछु ।” त्यसका लागि काम गर्ने वातावारण बनाउनका लागि सबै तयार हुन आवश्यक रहेकामा उनले जोड दिए ।

कामको सिलसिलामा राष्ट्रसेवक कर्मचारीको सेवासुविधाका लागि थप छलफल गरिरहेको र युवा स्वरोजगारको सन्दर्भमा जिल्ला–जिल्लामा सहजकर्ता मनोनयन गरी बजेटको वयवस्थापन गरी अगाडि बढ्न लागिरहेकाले त्यसमा आवश्यक सुझाव र सल्लाह दिन कर्मचारीलाई आग्रह गरे ।

कतिपय अवस्थामा समस्याकै बीचबाट नै राम्रो नजिता निकाल्नुपर्ने अवस्था रहने भएकाले सबै पक्ष सक्रिय भएर आ–आफ्नो तर्फबाट लाग्न मन्त्री तामाङले आग्रह गरे ।

स्काउटको नीतिगत काम अगाडि बढाउनका लागि विद्यालयमा बढी गतिविधि हुने भएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको समन्वयमा उत्साहजनकरूपमा सबै प्रदेश र स्थानीय तहमा पुर्याउने योजनाका साथ काम भइरहेको मन्त्री तामाङले बताए ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली थापाले सबै निकायबाट सूचना सरल र सहजरूपमा दिने वातावरण निर्माण गर्न आग्रह गरे।

कार्यालयमा सूचना माग्न आउने सेवाग्राहीलाई बस्ने व्यवस्था गर्न र सूचना सार्वजनिक गर्न तोकिएको सूचना अधिकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

जनताको सुसूचित हुन पाउने अधिकार भएकाले सहजरूपमा सूचना दिनुपर्ने र त्यसरी माग गर्दा पाएन भने उजुरीका लागि व्यवस्था रहेकाले सूचना माग गर्दा सबै प्रक्रिया पूरा गरेर उपलब्ध गराउन उनले  सम्बन्धित पक्षलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस