अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

रासस

शुक्रबार, २१ फागुन २०७७, १३ : ५४
अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४० हजारभन्दा कम पाइएको छ । 

खोप अभियान तिब्र बनाइएको अमेरिकामा अर्को चरणको संक्रमण फैलिने आशंका भइरहेको अवस्थामा नयाँ विवरणले अमेरिकी अधिकारीहरुलाई खुशी तुल्याएको छ ।

लकडाउन र अनेक किसिमका प्रतिबन्धबाट आम जनताको दैनिकी र देशकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको अवस्थामा पछिल्लो विवरण सार्वजनिक भएको हो ।

विश्वमै सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दैनिक संक्रमितको संख्या यसै वर्षको जनवरी महिनाका शुरुआती दिनहरुमा दैनिक तीन लाखसम्म पुगेको थियो । 

दैनिक संक्रमितको संख्यामा कमी र खोपको प्रयोग बढेसँगै अमेरिकाका धेरै राज्यले अनिवार्य मास्क लगाउने नियम हटाइदिएका छन् । तर राष्ट्रपति जो बाइडेनले यो सोचाई पुरातनपन्थी रहेको भन्दै आलोचना गर्नु भएको छ । 

राष्ट्रपति बाइडेनले आफ्नो १०० दिने कार्यकालमा १० करोड मानिसलाई खोप लगाइसक्ने घोषणा गर्नु भएको थियो । युरोपमा भने खोप अभियानमा ढिलाई भएको भन्दै आलोचना भइरहेको छ । 

युरोपेली औषधि नियामक निकायले रसियाले विकास गरेको स्पुतनिक भी खोपको सम्भावना बारेमा पनि अध्ययन भइरहेको जनाएको छ । यो खोप उपयुक्त देखिए युरोपमा स्पुतनिक भी खोपका लागि बाटो खुल्नेछ । 

रसियाले युरोपेली औषधि नियामक निकायले अध्ययन गर्ने जनाएसँगै आफूले युरोपका लागि तत्कालै ५ करोड डोज खोप उपलब्ध गराउन सक्ने बताएको छ । 

युरोपेली युनियनले यसअघि तीन किसिमका खोपलाई अनुमति दिइसकेको छ । तर केही मुलुकले आफूखुशी चीन र रसियाबाट खोप ल्याएर वितरण गर्न थालिसकेका छन् ।  

युरोपमै खोप अभाव भएको जनाउँदै इटालीले अस्ट्रेलियातर्फ पठाउन लागिएको अस्ट्राजेनिकाको खोप लैजान रोकेको छ । युरोपेली युनियनले अस्ट्राजेनिकाले युरोपेली मुलुकलाई बेवास्ता गरेको आरोप लगाएको छ । 

अस्ट्रेलियाली स्वास्थ्य मन्त्रालयका प्रवक्ताले युरोपेली युनियनको निर्णयप्रति रोश प्रकट गरेका छन् । अस्ट्राजेनिकाले अस्ट्रेलियालाई २ लाख ५० हजार डोज खोप पठाउन लागेको थियो । 

विश्व स्वास्थ्य संगठनको युरोप शाखाले युरोपेली मुलुकमा कोरोना संक्रमण फेरि तिब्र हुन थालेको चेतावनी दिएसँगै युरोपमा खोपको महत्व र आवश्यकता अरु बढेको छ । 

सन् २०१९ को अन्त्यतिर चीनमा देखा परेको कोभिड–१९ को संक्रमणबाट हालसम्म २५ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।(रासस–एएफपी) 

प्रतिक्रिया दिनुहोस