डोटी । जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ । घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन् ।
दाउरा सङ्कलनका लागिसमेत प्रतिबन्ध लगाइएको उक्त जङ्गलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जङ्गलमा समेत आगो फैलिँदै गएको जोरायल गाउँपालिका–१ गोगनपानीका सोपान ओलीले बताए ।
उनले भने , “जङ्गलभरि आगलागी भएको छ, समयमै नियन्त्रण गर्न सकिएन भने वरपरका छिमेकी सामुदायिक वनमा समेत आगो फैलिने डर भएको छ ।”आगलागीका कारण ती क्षेत्रका सामुदायिक वनमा उम्रिएका स–साना बोट बिरुका साथै जडीबुटीसमेत जलेर खरानी हुन थालेको स्थानीयवासीको भनाइ छ ।
आगोले सो क्षेत्रमा रहेका सल्ला, बाज, गुराँस तथा सम्मे, सतुवा, झ्याउ, कुरिलो, तेजपात, कटुकीलगायतका बहुमूल्य जडीबुटीसमेत नष्ट हुँदै गएका जोरायल गाउँपालिका–१ का वडासदस्य छपेश मल्लले जानकारी दिए ।
उनका अनुसार आगोका कारण जडीबुटीको क्षतिको यकिन विवरण सङ्कलन गर्न सकिएको छैन । अहिले पनि स्थानीयवासी तथा उपभोक्ता समितिका पदाधिकारी मिलेर आगो निभाउने प्रयास भइरहेको बताइएको छ ।
उक्त क्षेत्रमा सल्ला बढी भएको र सल्लाको खोटो जम्मा भएको ठाउँमा आगो निभाउन समस्या भइरहेको अर्का स्थानीयवासी कलकबहादुर बोहराले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ फागुन २०७७, १३ : ४६
लेखकबाट थप