बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

रासस

शुक्रबार, २१ फागुन २०७७, १२ : ३०
बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । 

बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग बिहीबार राजदूतावासमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन् । 

बहराइन रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ बहराइनी तथा तीन बेलायती नागरिक रहेको सो टोली ७९ दिन नेपालमा रहनेछ । टोली विशेष विमानबाट नेपाल आउने छ । 

सगरमाथा आरोहरणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट टे«कस प्रालिमार्फत भइहेको दूतावासले जनाएको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस