झापा । झापाको शिवसताक्षीस्थित झिलझिलेमा जिल्लाकै सबैभन्दा ठूलो लगानीमा निर्माण भएको वाटर किङ्डम पार्क एण्ड रिसोर्ट सञ्चालनको तयारीमा पुगेको छ । स्थानीय व्यवसायीको करीब रु ३५ करोडको लगानीमा जिल्लाकै सुविधा सम्पन्न पार्क निर्माण गरिएको पार्क औपचारिकरुपमा सञ्चालनको तयारीमा रहेको सञ्चालकले जनाएका छन् ।
पार्क सञ्चालकसमेत रहनुभएका कार्यकारी निर्देशक राजकुमार सङ्ग्रौलाका अनुसार फागुन २६ गतेदेखि सर्वसाधारणका लागि टिकट खुला गरेर पार्क सञ्चालनमा आउने र त्यसका लागि आवश्यक तयारी पूरा भएको छ । पूर्व–पश्चिम राजमार्गको झिलझिलेबाट करिब ३०० मिटर दक्षिणमा रहेको पार्क औपचारिकरुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ ।
विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि जिल्लामै उपयुक्त ठाउँ वाटर किङ्डम पार्क रहेको शिवसताक्षी नगरपालिका प्रमुख तथा पार्कका सल्लाहकार समितिका संयोजक चन्द्रकुमार शेर्माले बताए ।
सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि स्थानीय व्यवसायीले सन् २०१९ मा वाटर किङडम पार्क निर्माण शुरु गरेका थिए । कोरोना भाइरसका कारण मुलुकमा लकडाउन भएपछि पार्कका निर्माणाधीन भौतिक संरचना निर्माण बन्द भएका थिए । सरकारले लकडाउन खुकुलो बनाएपछि बाँकी रहेको पूर्वाधार निर्माण शुरू गरिएको सञ्चालक सङ्ग्रौलाले बताए ।
पार्कमा जीप लाइन, सुपरम्यान जीपलाइन र पछिल्लोपटक जीप साइक्लिङ पनि भित्र्याइएको छ । पार्क नखुल्दै सयौँ सर्वसाधारणले साइकल कुदाएर दैनिक मज्जा लिन थालेका छन् । पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको सङ्ख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक सङ्ग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरीलगायतका जिल्लाबाट समेत सर्वसाधारण आउन थालेका छन् ।
सञ्चालक सङ्ग्रौलाका अनुसार पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिन सकिने आठ प्रकारका आइटम पनि छन् । स्विमिङ पुलसहित वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइडलगायतका मनोरञ्जनात्मक खेल समावेश छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २१ फागुन २०७७, १२ : २३
लेखकबाट थप