पूर्वपश्चिम राजमार्गको स्तरोन्नति तीव्र

रासस

विहीबार, २० फागुन २०७७, १३ : २७
पूर्वपश्चिम राजमार्गको स्तरोन्नति तीव्र

सप्तरी । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति कार्यले तीव्रता पाएको छ । राजमार्गमा बढ्दो सवारी चापलाई दृष्टिगत पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरी ६ र ४  लेनको सडक निर्माण गर्न लागिएको हो ।

सप्तरीको कञ्चनरुप नगरपालिकाबाट सिरहाको कमला नदीसम्मको सडकलाई चार र छ लेनमा स्तरोन्नति गर्ने काम अघि बढाइएको कञ्चनपुर–कमला सडक आयोजनाले जनाएको छ ।सडक स्तरोन्नतिअन्तर्गत पहिलो चरणमा सिरहाको लहान नगरपालिका–११ बाट धनगढीमाई नगरपालिकासम्म सडकमा काम तीव्ररूपमा अघि बढ्दा सिरहावासी खुशी छन् ।

“साँघुरो सडकमा सवारी साधनको चाप बढ्दै जाँदा दैनिक सवारी दुर्घटना बढी हुने गरेको छ”, सिरहाको लहान नगरपालिका–११ का राजेन्द्र चौधरीले भने, “सडक विस्तारपछि सवारी दुर्घटनामा कमी आउँछ र सडक पनि फराकिलो हुन्छ ।

” सडक विस्तारले पूर्व–पश्चिम राजमार्गमा हुने सवारी जामसमेत घट्ने उनको विश्वास छ । हाल दुई लेनको र पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति कार्यअन्तर्गत बजार क्षेत्रमा छ लेन र बाहिर क्षेत्रमा चार लेनको सडक निर्माण गरिने कञ्चनपुर–कमला सडक आयोजना सिरहाका इञ्जिनीयर मनोजकुमार मण्डलले जानकारी दिए ।

पूर्व सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८७ किलो मिटरको सडक स्तरोन्नति गर्न चिनियाँ रेल्बे नम्बर–२ इञ्जिनीयर ग्रुप कम्पनी लिमिटेडलाई ठेक्का दिएको हो ।

अगामी तीन वर्षभित्र एशिएन हाइवे स्तरको निर्माण सम्पन्न गरिने सो सडक निर्माणका लागि नेपाल सरकार र चिनियाँ रेल्बे नम्बर–२ इञ्जिनीयर ग्रुपबीच सन् २०२० जुन २५ मा सम्झौता भएको थियो । 

सम्झौता भएसँगै निर्माण तीव्ररूपमा अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । सडक स्तरोन्नतिअन्तर्गत ५४ नयाँ पुल र सिरहाको लहान तथा मिर्चैयामा गरी दुई स्थानमा आकाशे पुलसमेत निर्माण गरिने इञ्जिनीयर मण्डलले बताउनुभयो । यसका साथै विभिन्न आठ स्थानमा अण्डरपाससमेत बनाइने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस