भूमिसम्बन्धी समस्या समाधान गरिनेछः अध्यक्ष ज्ञवाली

रासस

विहीबार, २० फागुन २०७७, १२ : ३६
भूमिसम्बन्धी समस्या समाधान गरिनेछः अध्यक्ष ज्ञवाली

दमौली । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताएका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक तनहुले भानु नगरपालिकामा आयोजना गरेको आवासको अधिकारसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले भूमिसम्बन्धी समस्या राष्ट्रको महत्वपूर्ण समस्या रहेकाले भविष्यमा पटकपटक आयोग नबन्ने गरी वर्तमान आयोगले नै सबै समस्या समाधान गर्ने दाबी गरे । 

“विगतमा आयोग गठनमा त्रुटी भएका कारण अहिले सरकारले ऐन निर्माण गरी अधिकार सम्पन्न आयोग बनाएको छ । वर्तमान सरकार परिवर्तन भए पनि आयोग विघटन हुँदैन”, अध्यक्ष ज्ञवालीले भने, “भूमि र आवास सम्बन्धी अधिकार संविधानको मौलिक हकमासमेत समावेश भएकाले अब कोही पनि भूमिहीन भएर बस्न पर्दैन् ।” 

उनले  वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई राज्यले निर्धारण गरेको जग्गा उपलब्ध गराउने बताउँदै कसैले ढाँटेर र छलेर जग्गा प्राप्त गर्न खोज्छ भने त्यसलाई कानूनी कारवाही गरिने बताए ।

भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले नगरपालिकामा सुरक्षित आवास कार्यक्रमअन्तर्गत २३१ घर निर्माण भएको, जनता आवास कार्यक्रमअन्तर्गत ३५ जना लाभग्राही छनोट भएको र त्यसमध्ये २८ जनाले तेस्रो किस्ताबापतको रकम लिएर आवास निर्माण गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस