अन्तराष्ट्रिय बजार लिँदै काली मार्सी चामल , जापानमा तीन टन निर्यात

रासस

विहीबार, २० फागुन २०७७, ११ : ५०
अन्तराष्ट्रिय बजार लिँदै काली मार्सी चामल , जापानमा तीन टन निर्यात

खलङ्गा । जुम्ली मार्सी चामल र अग्र्यानिक सिमी लगायत कृषिवस्तुका माग अन्तर्राष्ट्रिय बजारमा निर्यात बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ  ।अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी  निर्यात गरेका हुन् ।

व्यावसायिकरूपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उनले जानकारी दिए । उनले भने, “टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल, मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना गरी निर्यात गरिएको छ ।

” कर्णालीका कृषि वस्तुको व्यावसायिकरूपमा निर्यात भएको यो पहिलोपटक रहेको यहाँका स्थानीयवासी बताउँछन् । कर्णालीका किसानको जीवनस्तर उकास्नेसँगै जुम्ली मार्सी र सिमीको माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल भएको छ ।

बीस टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । पन्ध्र टन मार्सी, चार टन सिमी, हरियो केराउ र कोदो गरेर एक टन क्यानडामा माग भएको सञ्चालक शाहीले बताए ।  क्यानडास्थित लायम फुड कर्पोरेशनका डा पूर्ण कँडेलको समन्वयमा  ती वस्तु निर्यात गर्न लागिएको छ ।

ती सामानमा ‘कर्णाली सुपरफुड’ लोगो हुने  सुपरफुडले जनाएको छ । अहिले प्याकेजिङ भइरहेको छ । क्यानडा सामान पठाउन भने केही अप्ठ्यारो भएको उनले बताए ।

“जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्”, उनले भने , “क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ ।”

 

प्रतिक्रिया दिनुहोस