भारतसँग जोडिएका बैतडीका नाका ११ महिनादेखि बन्द

रासस

विहीबार, २० फागुन २०७७, १० : ५०
भारतसँग जोडिएका बैतडीका नाका ११ महिनादेखि बन्द

बैतडी । जिल्लाको तल्लोस्वराडका भारतसँग जोडिएका नाका घाट पछिल्लो ११ महिनादेखि बन्द छन् । घाट बन्द हुँदा आवतजावत गर्न नै समस्या भएको छ । महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्न बनाइएका निश्चित स्थानहरू नै घाट हुन् ।  

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै महाकाली नदीमा रहेका जिल्लाका तल्लोस्वराडका घाट गत चैतदेखि नै बन्द गरिएका थिए । शिवनाथ गाउँपालिकाको नागार्जुन घाट र कुस्मौद घाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वर घाट, विनायक घाट र धरमघाट बन्द अवस्थामा छन् । घाट बन्द हुँदा भारत जानका लागि दुई दिन लगाएर झुलाघाट नाका भएर जानुपर्ने अवस्था छ । 

यसका साथै दैनिक उपभोग्य सामानसमेत महँगो खरिद गर्नुपरेको स्थानीयवासी वीरेन्द्र महताले बताए । घाट खुला रहँदा भारतबाट सामान आउने गरेको भए पनि हाल भारतबाट आउन छोडेको हो । तल्लोस्वराडवासी नाका वारपार गर्नका लागि महाकाली नदीमा डुङ्गा प्रयोग गर्छन् ।

यसका लागि नदीमा निश्चित स्थान तोकिएका थिए । ती स्थानमा हाल डुङ्गा चल्न छोडेका हुन् । उपभोग्य सामानका लागि भारतकै भरमा रहेका स्थानीयवासी हाल समस्यामा परेका हुन् । हालै तल्लोस्वराडमा सडकसञ्जाल विस्तार भएकाले नेपालबाट लगिएको महँगोमा सामान पुग्ने गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस