कर्णाली प्रदेशका नौ जिल्ला कोरोना संक्रमणमुक्त

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, १५ : ०२
कर्णाली प्रदेशका नौ जिल्ला कोरोना संक्रमणमुक्त

file Photo

सुर्खेत । कर्णाली प्रदेशका नौ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्  । सुर्खेतबाहेक अन्य जिल्लामा सक्रिय संक्रमित नभएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । 

सुर्खेतबाहेक अरु सबै जिल्ला कोरोना संक्रमण मुक्त बनिसकेका हुन्  । मुगुसहित कर्णालीका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको छ । 

मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा ११ जना सक्रिय संक्रमित रहेका छन्  । सुर्खेतमा हालसम्म ३ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ ।

दैलेखमा १ हजार ६ सय ८५, सल्यानमा ६ सय ९३, जुम्लामा ४ सय २३, कालिकोटमा ३ सय ३३, रुकुम पश्चिममा २ सय ५७, जाजरकोटमा १ सय ५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा संक्रमण देखिएको तथ्याङ्कमा उल्लेख छ । 

प्रदेशमा हालसम्म ७ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ७ हजार ३ सय ८१ संक्रमणमुक्त भएका हुन् ।  कर्णालीमा संक्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ भने २६ हजार ९ सय ९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस