सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबीचको पहिलो चरणको वार्ता सकियो

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, ११ : ०१
सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबीचको पहिलो चरणको वार्ता सकियो

काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको छ । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्दै आजको बैठक सकिएको बताइएको छ ।  

औपचारिक रूपमा वार्ता टोली गठन भएसंगै सरकार र नेत्रविक्रम चन्द नेतृत्वको समूहबीच वार्ता आजबाट सुरु भएको हो ।  दुवै पक्षले हिजो (मंगलबार) वार्ता टोली गठन गरेका थिए ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए ।

चन्द समूहले म‌ंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो । चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको छ । सरकारले पनि गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय समिति सार्वजनिक गरेको थियो । 

प्रतिक्रिया दिनुहोस