उच्च ओहदामा बस्ने बढी अनुशासित र जिम्मेवार हुनुपर्छ  : सभामुख

रासस

सोमबार, १७ फागुन २०७७, २० : १३
उच्च ओहदामा बस्ने बढी अनुशासित र जिम्मेवार हुनुपर्छ  : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्ले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणका लागि अझ धेरै भूमिका खेल्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।

नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान कार्यक्रममा उहाँले संसद्लाई जीवन्त र जनमुखी बनाउन बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म आफू लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।  

सभामुख सापकोटाले भन्नुभयो, “विधि–विधान, कानून, नीति निर्माणमा हुने छिद्रताले गलत मनसाय राख्नेका लागि खेल्न सक्ने प्रशस्त ठाँउ दिने भएकाले कानून निर्माणमा शुद्धता, पवित्रता, गुणस्तर कायम गर्न सकिएमा मात्रै सुशासन कायम गर्न सकिन्छ ।”

 राष्ट्रको उच्च ओहदाको जिम्मेवारीमा रहने व्यक्ति सबैभन्दा बढी अनुशासित र जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “नियम कानूनको पालना सबैभन्दा बढी हामीले नै गर्नुपर्छ, आत्मानुशासन नै महान कुरा हो । बनाएका कानून के कति कार्यान्वयन भए, भएन त्यसको अनुगमन र निगरानी संसद्ले गर्नुपर्छ ।”

संसद् विघटनपछि नेपाली पत्रकारिता जगतले अग्रमोर्चामा रही गरेको बहस पैरवीको सह्रना गर्दै उहाँले भन्नुभयो, “जनताको एकता, लोकतन्त्र, लोकतान्त्रिक मूल्यमान्यता र शान्तिपूर्ण ढङ्गबाट अघि बढ्ने मनमस्तिष्कलाई पनि सञ्चार क्षेत्रले सश्लेषण गर्नुपर्छ, नेपाली पत्रकारिता जगतको हालसम्मको भूमिका गौरव गर्न लायक छ ।”

प्रतिक्रिया दिनुहोस