कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : मन्त्री श्रेष्ठ

रासस

सोमबार, १७ फागुन २०७७, १९ : ०८
कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पार्नुभएको छ ।

चन्द्रागिरि नगरपालिका¬–१ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उहाँले कसैले परबाट राजीनामा दे भन्दा प्रधानमन्त्रीले राजीनामा दिने हो भनी प्रश्न गर्नुभयो । 

वर्तमान सरकारले नै मुलुकमा निर्वाचन गराउनेमा ढुक्क हुन आग्रह गर्दै उहाँले संसद्मा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पनि चुनौती दिनुभयो । प्रधानमन्त्री ओलीले चालेको राजनीतिक कदमको संवैधानिक निरुपण हुँदा मुलुक अप्ठयारो अवस्थामा पुगेको जिकिर गर्दै उहाँले यद्यपि सरकारले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै यही फागुन २३  गते प्रतिनिधिसभाको बैठक बोलाएको बताउनुभयो । 

“नसोचेको घटनामा मुलुक फसेको छ, यसबाट मुलुकले निकास पाउनुपर्छ, देश, जनता, लोकतन्त्र र संविधानले जित्नुपर्छ”, उहाँले भन्नुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यही फागुन ११ गते १३ दिनभित्र संसद् बैठक बोलाउन सरकारका नाममा परमादेश दिएको थियो ।

मन्त्रिपरिषद् बैठकले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बोलाउन राष्टपतिसमक्ष सिफारिश गरेको छ । “सरकार गठन भएदेखि नै जनताको पक्षमा काम हुँदै आएको छ, तर आफ्नै पार्टीबाट असहयोग भएको छ”, मन्त्री श्रेष्ठले भन्नुभयो । मुलुक पुनःनिर्माण र नवनिर्माणको चरणमा तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्दै उहाँले यही सरकारले नै रानीपोखरीलगायत संरचनाको निर्माण सम्पन्न गरेको र धरहरा तथा काष्ठमण्डपको छिट्टै निर्माण सम्पन्न गरिने बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “आगामी वैशाख १२ गते मध्याह्न १२ बजे काष्ठमण्डपको उद्घाटन गरिन्छ ।”

प्रत्येक पालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको उद्देश्य रहेको बताउँदै उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले त्यसको तयारी गरिरहेको र छिट्टै घोषणा गरिने जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले आर्थिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक दृष्टिले नगरपालिकालाई समृद्ध बनाउन लागि परेको बताउनुभयो । चन्द्रागिरि नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गरिने प्रतिबद्धता पनि उहाँले बताउनुभयो । सिटिइभिटीका सदस्यसचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षामा सबैको पुहँच पुर्याउने उद्देश्यसहित देशभर प्राविधिक शिक्षालय विस्तार गर्न लागिएको बताउनुभयो । 

शिक्षालयका लािग जग्गा प्राप्ति भएलगत्तै निर्माण थालनी गरिने सिटिइभिटीले जनाएको छ । शिक्षालयको विस्तृत परियोजना निर्माण (डिपिआर)को निर्माणको काम भइरहेको छ । प्राविधिक शिक्षालयको सम्पूर्ण लागत डिपिआरले तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस