नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता छ: शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, १७ फागुन २०७७, १६ : ५२
नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता छ: शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता औँल्याएका छन् । सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्  ।

नेपालमा राजनीतिक परिवर्तनहरु भएपनि पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता रहेकाले पुरानो शिक्षा ऐनलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । अहिलेपनि शिक्षा ऐन २०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेकाले पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महसुस गर्न नसकिने उनकोे तर्क थियो ।

मन्त्री श्रेष्ठले शिक्षा नीतिको सम्बन्धमा उच्चस्तरिय अधिकारसम्पन्न कार्यदल बनाउनुपर्ने आवश्यकता रहेको बताए ।उनले भने ,‘शिक्षामा आमुल परिवर्तनका लागि हामीले उच्चस्तरको अधिकार सम्पन्न शिक्षा नीतिको सन्दर्भमा एउटा व्यवस्थित कार्यदल बनाएर अगाडी बढ्नुपर्छ भन्ने मलाई लागेको छ ।’

मन्त्री श्रेष्ठले अहिलेको राजनीतिक निकासको अन्तिम उपाय जनताको जनादेश भएको जिकिर गरे । संसदबाट समस्याको समाधान ननिस्किने उनको भनाई छ । उनले आगामी मंसिर सम्ममा चुनाव हुने र चुनावको नेतृत्व पनि यही सरकारले गर्ने दाबी गरे । 

प्रतिक्रिया दिनुहोस