सहकारीमार्फत होटल सञ्चालन

रासस

शनिबार, १५ फागुन २०७७, १२ : ५३
सहकारीमार्फत होटल सञ्चालन

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ खोपारामा सहकारी संस्थामार्फत होटल सञ्चालन गरिएको छ । खोपारामा ४० जना क्षमताको २० कोठे होटल सञ्चालन गरेको पाउद्वार पर्यटन सहकारी संस्थाले पदमार्ग शुरु गर्ने तयारी गरेको छ । 

पर्यटनको लाभ समुदायमा पु¥याउन नेपालमै पहिलो पटक नयाँ अवधारणामा होटल सञ्चालन गरिएको सहकारीका अध्यक्ष राजेश तिलिजा पुनले बताए। “राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणाअनुसार नेपालमै पहिलो सहकारीबाट होटल चलाएका हौँ”, उनले भने ,“पाउद्वारलाई केन्द्रित गरेर वरपरका पर्यटकीयस्थललाई समेटेर नयाँ पदमार्ग सञ्चालनको तयारी गरेका छौँ ।”

यसअघि पाउद्वार मावि र हिमाञ्चल माविले खोपारा लेकमा सञ्चालन गर्दै आएको सामुदायिक होटललाई सहकारी मातहत ल्याइएको हो । होटलका संरचनाको मूल्याङ्कन गरेर २५ प्रतिशत पाउद्वार माविका निजी स्रोतका शिक्षकको तलबका लागि अक्षयकोष बनाउने सम्झौता भएको छ । 

गाउँपालिकामा पहिलो पटक दर्ता भएर यही फागुन ११ गतेदेखि सञ्चालन भएको सहकारीमा हाल पाउद्वारका १२३ जनाले रु ८८ लाख शेयर लगानी गरेका छन् । गाउँमा बचत, ऋण लगानी र आर्थिक क्रियाकलापका साथै होटलमा जनशक्ति परिचालन गर्नेदेखि आम्दानी खर्चको विवरण सबै सहकारीमार्फत गरिने भएको छ । 

होटलको आम्दानीलाई सञ्चालन खर्च कटाएर मुनाफाका रुपमा शेयर सदस्यलाई वितरण गरिनेछ । विद्यालयअन्तर्गत सञ्चालन गर्दा व्यवस्थापनमा समस्या देखिएपछि सहकारी मातहत ल्याइएको अध्यक्ष तिलिजाले बताए ।विसं २०७६ मङ्सिर महिनादेखि प्रस्तावित सहकारीलाई होटल व्यवस्थापनको जिम्मा लगाइएको थियो । सहकारी मातहत आएको एक वर्षको अवधिमा होटलले रु ३१ लाखको कारोवार गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस