स्थानीय तह र वडा थप गर्न सिफारिस

रासस

शनिबार, १५ फागुन २०७७, १२ : ४६
स्थानीय तह र वडा थप गर्न सिफारिस

म्याग्दी । जिल्ला समन्वय समितिको शुक्रबार सम्पन्न पाँचौँ जिल्लासभाले स्थानीय तह र वडा थप गर्न सिफारिस गरेको छ ।रघुग्ङ्गा गाउँपालिकालाई विभाजन गरेर दुई बनाउन, अन्नपूर्ण र धवलागिरि गाउँपालिकामा दुई/दुई वडा थप गर्न प्रदेश सरकारलाई जानकारी र सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । हाल छ स्थानीय तह रहेको जिल्लामा ४५ वडा छन् । 

सम्बन्धित पालिकाको गाउँसभाले गरेको निर्णयलाई जिल्लासभाले सिफारिस गरेको जिसस प्रमुख देवेन्द्र केसीले जानकारी दिए । धवलागिरिको सभामा वडा नं ४ मुदी र वडा नं ७ ताकमलाई दुई/दुई  विभाजन गर्ने निर्णय भएको थियो । 

रघुगङ्गालाई दुई पालिकामा विभाजन गर्ने गाउँसभाको निर्णय कार्यान्वयनका लागि सिफारिस गर्ने जिल्लासभाले निर्णय गरेको छ । गत पुसको १५ गते भएको रघुगङ्गाको गाउँसभाले रघुगङ्गा नदीबाट पारिरहेका भूगोललाई समेटेर थप नयाँ गाउँपालिका बनाउनका लागिसमेत अनुरोध गर्ने निर्णय गरेको थियो । 

वडा नं ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ८ को कुइनेबस्तीलाई समेटेर पाखापानीमा केन्द्र रहने गरी नयाँ गाउँपालिका माग गर्ने निर्णय सिफारिसका लागि गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जिल्लासभामा प्रस्ताव गरेका थिए । 

यसैगरी ठूलो भूगोलमा छरिएका अन्नपूर्णको वडा नं ५ शिख र वडा नं ७ हिस्तानलाई विभाजन गरेर दुई÷दुई वटा वडा बनाउन सिफारिस भएको छ । सेवा प्रवाहमा नागरिकको सहज पहुँच र विकास निर्माणलाई व्यवस्थित गर्न वडा विभाजनको सिफारिसका लागि अन्नपूर्णका अध्यक्ष डमबहादुर पुनले प्रस्ताव गरेका हुन् । 

जिल्लासभाले हिमाली जिल्लाको मापदण्ड लागू गरेर सेवासुविधा लाग गर्न सङ्घीय सरकारलाई माग गरेको छ । गत वर्ष जिल्लालाई हिमाली जिल्लामा सुचीकृत गरिए पनि आरक्षण कोटा, कर्मचारीको सेवासुविधा र अन्य विषयमा लागू भएको छैन । पहिरोपीडितको घर पुनःनिर्माणका लागि भने हिमाली जिल्लाको सुविधा कार्यान्वयन भएको छ । 

प्रतिक्रिया दिनुहोस