उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

रासस

शुक्रबार, १४ फागुन २०७७, १३ : १३
उच्च अदालत जनकपुरधामद्वारा २० प्रतिशत मुद्दा फछ्र्योट

जनकपुर । उच्च अदालत जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम मुद्दा फछ्र्योट गरेको छ ।चालु आर्थिक वर्षका लागि दुई हजार ९५८ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएकोमा माघ मसान्तसम्म ५९८ मुद्दा मात्र फछ्र्योट भएको उच्च अदालत जनकपुरधामले जनाएको छ ।

यो लक्ष्यको तुलनामा २० दशमलव २१ प्रतिशत रहेको छ ।विश्वभर फैलिएको कोभिड­ १९ को सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले लक्ष्यअनुसार मुद्दा फछ्र्योट नभएको अदालतद्वारा आज आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उच्च अदालत जनकपुरधामका रजिष्ट्रार खगराज अधिकारीले जानकारी दिए । 

उनका अनुसार गत वर्षबाट सरिआएको एक हजार ६८२ मुद्दा र चालु आर्थिक वर्षको दुई हजार ५५१ गरेर कूल चार हजार २३३ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको छ । उनले  धेरै मुद्दाको चाप भए पनि जनशक्ति अभावका कारण लक्ष्यको तुलनामा मुद्दा फछ्र्योट हुन नसकेको बताए । 

रजिष्ट्रार अधिकारीले गरिब तथा विपन्न वर्गको कानूनी रक्षा गर्न अदालतले निःशुल्क कानून व्यवसायी उपलब्ध गराएको जानकारी दिए । उच्च अदालतमा अहिले ५६ जना जनशक्ति कार्यरत छन् भने ९६ जनाको दरबन्दी रहेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस