नारायणगढ–बुटवल सडकमा  निर्माण भए २२ साना पुल

रासस

विहीबार, १३ फागुन २०७७, १३ : ०६
नारायणगढ–बुटवल सडकमा  निर्माण भए २२ साना पुल

चितवन । सडकमार्गबाट देशका मेचीकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । देशकै गौरवकै आयोजनाका रुपमा रहेको सो खण्डको विस्तारले यही फागुनदेखि तीव्रता पाएको हो ।

सडक विस्तारअन्तर्गत खण्ड १ को गैँडाकोट–दाउन्ने सडकमा साना कल्भर्ट निर्माणको काम सकिएको छ । गैँडाकोटमा अधिकांश साना कल्भर्ट निर्माण भइसकेको तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जङ्गल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ ।

बाइस साना कल्भर्ट निर्माण भएर १२ ठूला पुलको काम पनि तीव्र गतिमा अगाडि बढेको आयोजना प्रमुख रमेशकुमार दिष्टीले बताए ।दिष्टीका अनुसार गैँडाकोट क्षेत्रमा पाँच स्थानमा अस्थायी मार्ग परिवर्तन गरेर ठूला पुल निर्माणको काम धमाधम अगाडि बढेको छ ।

सडकको दायाँबायाँ सतह मिलाउने, नाला निर्माण गर्ने र गैँडाकोट क्षेत्रमा पर्ने सडक भित्ता कटान तीव्र गतिमा भइरहेको उनको भनाइ छ ।सडक किनारका रुख कटान र विद्युत्का तार र खम्बा सार्न ढिलाइ हुँदा समयमै काम सक्न चाप परेको प्रमुख दिष्टीले बताए। राजमार्गबाट उत्तरतर्फका रुख कटानको काम तीव्र रुपमा भइरहँदा दक्षिणतर्फको रुख कटान भने हुन सकेको छैन ।

दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र परेकाले निकुञ्जले अनुमति नदिँदा रुख कटान रोकिएको आयोजना प्रमुख दिष्टीले  जानकारी दिए ।सडक विस्तार गर्दा झण्डै ११ हजार रूख काटिने आयोजनाले जनाएको छ । यो खण्डको ६ स्थानमा वन क्षेत्र छ ।