भरतपुरमा निशानको म्याग्नाइट गाडीको बिक्री शुभारम्भ

सफल खबर संवाददाता

मंगलबार, ११ फागुन २०७७, १० : ४१
भरतपुरमा निशानको म्याग्नाइट गाडीको बिक्री शुभारम्भ

चितवन । एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिले भरतपुर–१० रिजाल चोकमा रहेको शोरुमबाट ‘निशान म्याग्नाइट’ बिक्री शुभारम्भ गरेको छ । प्रालिले मंगलबारदेखि सो मोडलको गाडीको बिक्री शुभारम्भ गरेको हो ।

गाडीको बिक्री शुभारम्भ उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले गरेका हुन् । जापानीज कम्पनी निशानको म्याग्नाइट मोडलका विभिन्न ११ वटा भेरियन्टमा गाडी उपलब्ध हुने प्रालिका सेल्स कन्सल्टेन्ट हेमन्त गुरुङले बताए । भरतपुरमा सिल्भर ब्ल्याक र सेतो रङमा निशान म्याग्नाइट उपलब्ध भएको भन्दै गुरुङले केही दिनमा आठ वटै रङका गाडी उपलब्ध गराइने जानकारी दिए । म्याग्नाइट मोडलका गाडीको मूल्य २९ लाख ४९ हजार रुपैयाँदेखि ४२ लाख ७९ हजार रुपैयाँ पर्ने उनले बताए ।

निशान म्याग्नाइटको मुख्यगरी एक्स ई, एक्स एल, एक्स भी र एक्स भी प्रिमियम मोडलका गाडीहरु प्रचनलमा रहेका गुरुङको भनाइ छ । एक हजार सिसी इन्जिन क्षमताको गाडीमा ४० लिटरको पेट्रोल ट्याङ्की रहेको भन्दै गुरुङले टर्बो र नन टर्बोमा म्याग्नाइट गाडी उपलब्ध भएको बताए । नन टर्बोको माइलेज १८.७५ किलोमिटर तथा टर्बोको २० किलोमिटर प्रतिलिटर रहेको उनको भनाइ छ । टर्बो गाडीले पिकअप बढाउनुका साथै सुरक्षित यात्राका लागि समेत भरपर्दो भएको उनले बताए ।

एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिका सञ्चालक अञ्जन शाक्यले गाडीको ग्राउण्ड क्लिरेन्स २०५ मिलीमिटर भएकाले नेपालको बाटोमा यात्राका लागि सहज हुने बताए । म्याग्नाइट मोडलका एक्स ई र एक्स एलबाहेकका अन्य गाडीहरुमा एलोए ह्वील र टच स्क्रिनसमेत भएको शाक्यले बताए । ३९९४ मिलीमिटर लम्बाई भएको गाडीको चौडाई १७५८ मिलीमिटर तथा उचाई १५७२ मिलीमिटर भएको शाक्यको भनाइ छ । एसयूभी गाडीमा ३३६ लिटर क्षमताको डिक्की भएकाले आरामदायी यात्राको लागि समेत म्याग्नाइट गाडी भरपर्दो भएको बताए ।

म्याग्नाइट मोडलका गाडीहरुमा एलईडी बायो प्रोजेक्टर हेडलाइट जडान भएकाले रात्रिकालिन यात्रामा सहज हुने जनाइएको छ । उक्त गाडीमा ३६० डिग्री का चार वटा स्वचालित क्यामेरा जडान भएका छन् । गाडी बिक्री पछिको मर्मत, स्पेयर तथा पार्टस्का लागि समेत शोरुममा सेवा उपलब्ध हुने बताइएको छ । आफ्नै सर्भिस सेन्टर भएकाले म्याग्नाइट तथा हरेक निशान मोडलका गाडी किन्ने ग्राहकका लागि कुनै झण्झट नहुने सञ्चालक शाक्यले बताए । 
 

प्रतिक्रिया दिनुहोस