कोरोनाका चार नयाँ भेरियन्ट फेला

पत्रपत्रिकाबाट

सोमबार, १० फागुन २०७७, ०८ : २०
कोरोनाका चार नयाँ भेरियन्ट फेला

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बेलायतमा एक जनाको सङ्क्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३३६ जना पुगेको छ ।

सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६३० जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ५९ हजार १२० जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९७ प्रतिशत छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, सेसल्स, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ६१ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७३ हजार २६३ जना छ भने २ लाख ६९ हजार ६१९ जना अर्थात् ९८.७ प्रतिशत कोरोनाबाट मुक्त भएको गैरआवासीय नेपाली सङ्घ, कोभिड– १९ उच्चस्तरीय समितिका प्रेश संयोजक चिरन शर्माले बताए ।

खोप अभियानमा सहभागी बनौँ
स्वास्थ्य विशेषज्ञले हाल प्रयोगमा आएका खोप सुरक्षित रहेको बताएका छन् । स्वास्थ्य समितिमा आबद्ध चिकित्सकका अनुसार लामो समयको अध्ययन र परीक्षणपश्चात् खोप प्रयोगमा ल्याइएकाले ती प्रयोगका लागि सुरक्षित छन् । हाल कोरोनाको विभिन्न चार नयाँ भेरियन्ट देखा परेको जनाउँदै उनीहरुले अहिले प्रयोगका ल्याइएका खोप नयाँ भेरियन्टका लागि पनि प्रभावकारी हुने बताएका छन् ।

संयुक्त अधिराज्य, क्यालिफोर्निया देश तथा एशिया र दक्षिण अफ्रिका महादेशमा कोरोनाको नयाँ भेरियन्ट देखा परेको हो । प्रारम्भिक अनुसन्धानअनुसार नयाँ भेरियन्ट पुरानो भाइरसका तुलनामा बढी सङ्क्रामक छन् । स्वास्थ्य समितिले नयाँ भेरियन्टविरुद्ध पनि खोप प्रयोग गर्न सकिने भन्दै खोप अभियानमा सहभागी हुन अपिल गरेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस