कोरोना उपचारमा खटिनेले स्वास्थ्यकर्मीले भत्ता पाएनन्

मन्त्रालयमा बस्नेले भने जोखिम, बैठक र भ्रमणका नाममा थरीथरी भत्ता बुझिसके

पत्रपत्रिकाबाट

सोमबार, १० फागुन २०७७, ०७ : ३४
कोरोना उपचारमा खटिनेले स्वास्थ्यकर्मीले भत्ता पाएनन्

काठमाडौँ । कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् । मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन् । प्रायः कर्मचारीले प्रत्येक दिनको भत्ता लिएका छन् । त्यसरी जोखिम भत्ता लिनेले त्यही दिनको बैठक भत्तासमेत बुझेका छन् । काजमा जानेले भ्रमण भत्ता लिएका छन् ।

स्वास्थ्य संस्था, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई संशोधन गर्न गठित समितिको असार १३ देखि २४ सम्म १२ वटा बैठक बसेको थियो । ती बैठकमा उपस्थित भएको भन्दै डा. विकास देवकोटा, मुक्तिनाथ न्यौपाने, सानुबाबु अधिकारी, पुष्करराज नेपाल, पानबहादुर क्षत्री, किशोर श्रेष्ठ, मुना शर्मा, प्रकाश पोखरेल, विजयक्रान्ति शाक्य, दीपक महर्जन, सन्तोष सुवेदी र उत्तमकुमार श्रेष्ठले १ हजार ५ सयका दरले भत्ता लिएका छन् ।

बैठक भत्ता लिएकाहरूले त्यही दिनको जोखिम भत्ता पनि लिएका छन् । काज भ्रमणमा जाने कर्मचारीले पनि भ्रमण र जोखिम दुवै भत्ता थापेका छन् । यही प्रकृतिको बारम्बार बैठक राखेर भत्ता लिने अर्को समिति हो– स्वास्थ्य संस्थाको तहगत संरचना र तिनले प्रदान गर्ने सेवा प्रवाह, मापदण्डलगायतको विषय तय गर्न गठित समिति । यो समितिले पनि असारमा ९ वटा बैठक राखेर हरेकले २ हजारका दरले भत्ता लिएका छन् । यसरी एउटै विषयमा पटक–पटक बैठक राखेर भत्ता लिनेमा डा. रोशन पोखरेल, रघुराम बिष्ट, डा. गुणराज लोहनी, डा. विकास देवकोटा, डा. जागेश्वर गौतम, डा. तारानाथ पोखरेललगायत छन् ।

एउटै व्यक्तिले जोखिम भत्ता, बैठक भत्ता र भ्रमण भत्ताबापत रकम लिएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियन र चालकसम्मले कात्तिकसम्मको भत्ता लिइसकेका छन् । मन्त्रालयमा बस्नेहरूले कोभिड भत्ता भन्दै तलब सुरु स्केलको ५० प्रतिशत भत्ता लिएका हुन् ।

कसले कति बुझे ? 

लक्ष्मण अर्याल (सचिव) – १,३१,०८९

यादवप्रसाद कोइराला (सचिव) – ५५,०२५

डा। दीपेन्द्ररमण रेग्मी (महानिर्देशक) – ५७,४५३

डा। रोशन पोखरेल (प्रमुख विशेषज्ञ) – १,६३,४५७

महेन्द्रप्रसाद श्रेष्ठ (प्रमुख विशेषज्ञ) – ४४,५०६

दामोदर रेग्मी (सहसचिव) – ३९,७९०

शैलजा रेग्मी भट्टराई (सहसचिव) – १,४६,८५४

रघुराम विष्ट (सहसचिव) – १,११,०३५

डा. विकास देवकोटा (प्रमुख अस्पताल प्रशासक) – १,५०,४८०

डा. गुणराज लोहनी (प्रमुख स्वास्थ्य प्रशासक) – १,५५,२०४

मदनकुमार उपाध्याय (प्रमुख मेडिकल (सुपरिन्टेन्डेन्ट) – ३५,०८९

रीता भण्डारी जोशी (प्रमुख जनस्वास्थ्य प्रशासक) – ३०,३६६

डा। जागेश्वर गौतम (प्रवक्ता) – १,०३,२४४

मन्त्रालयका कर्मचारीले तीन चरणमा कोरोना भत्ता लिएका हुन् । पहिलो चरणमा चैतदेखि असारसम्म, दोस्रो चरणमा साउनदेखि असोजसम्म र तेस्रो चरणमा कात्तिकको भत्ता बुझेका छन् । चैतदेखि असारसम्मको भत्ता पाउनेमा २ सय ३

जना छन् । उनीहरूमध्ये ३७ जनाले १ सय १० दिनको भत्ता लिएका छन् । उनीहरूले चैतको २० दिन, वैशाख, जेठ, असारको ३०–३० दिनकै भत्ता लिएका छन् । ‘लकडाउनका बेला मुस्किलले १० जना मात्रै उपस्थित हुन्थ्यौं तर पूरा दिन आएको भनेर धेरैले भत्ता लिएका छन्,’ मन्त्रालयका एक कर्मचारीले भने ।

चैतदेखि कात्तिकसम्म मन्त्रालयका कर्मचारीलाई कोरोना जोखिम भत्तामा १ करोड ३ लाख रुपैयाँ खर्च भएको छ । साउनदेखि असोजसम्म दोस्रो चरणमा भत्ता दिएको थियो । यो अवधिमा भत्ता लिनेको सूचीमा स्थायी कर्मचारी मात्रै १ सय ३५ जना छन् । उनीहरूले मात्रै ४७ लाख ८२ हजार ३ सय ९५ रुपैयाँ भत्ता लिएका छन् । साउनदेखि असोजसम्म सबैभन्दा बढी जोखिम भत्ता लिनेमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल छन् । उनले ९० दिनको ७२ हजार ८ सय २८ रुपैयाँ जोखिम भत्ता लिएका छन् । उनले दैनिक २ हजार २३ रुपैयाँका दरले जोखिम भत्ता लिएका छन् । उनले २०७६ जेठ दोस्रो सातादेखि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । जेठमा १३ दिन, असारमा ३० दिनको ३४ हजार ७ सय ९५ रुपैयाँ जोखिम भत्ताबापत बुझेका छन् ।

मन्त्रालयका प्रमुख अस्पताल प्रशासक डा. गुणराज लोहनीले पनि चैतदेखि असारसम्म १ सय १० दिनकै ७४ हजार २ सय २८ रुपैयाँ भत्ता बुझेका छन् । प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले १ सय ३ दिनको ८३ हजार ३ सय ४७ रुपैयाँ बुझेका छन् । त्यस्तै प्रमुख अस्पताल प्रशासक डा। विकास देवकोटाले एक सय ९ दिनको ७५ हजार ५ सय ५३ रुपैयाँ भत्ता लिएका छन् । ९० दिनकै भत्ता लिने कार्यालय सहयोगीले २९ हजार ४ सय ७१ रुपैयाँसम्म बुझेका छन् ।

कोरोना रोकथाम, नियन्त्रण, पहिचानमा खटिने र कार्यालयको नियमित काम गर्ने, घरमा बस्ने, बिरामी भएर बिदामा बस्नेलाई पनि एउटै मूल्यांकनमा राखेर भत्ता दिएको कर्मचारीको गुनासो छ । लकडाउनका बेला विद्युतीय हाजिर नगर्नेहरूलाई पछि छुट्टै हाजिर गर्न लगाएर जोखिम भत्ता दिएको स्रोतको दाबी छ । साउनदेखि असोजसम्म भत्ता लिनेमा २ सय ४३ जना छन् । यसमध्ये ३५ जनाले ३० दिनकै भत्ता लिएका छन् । अन्यले पनि २० दिनभन्दा बढीको भत्ता लिएका छन् । कात्तिकको भत्ता भने २ सय २७ जनाले लिएका छन् । कात्तिकमा मात्रै ३० लाख २५ हजार ७ सय ६९ रुपैयाँ कोभिड भत्ता लिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस