चितवनमा पहिलो पटक ट्राफिक जरिवाना भुक्तानी बैङ्किङ प्रणालीबाट सुरु

सफल खबर संवाददाता

विहीबार, ०६ फागुन २०७७, ०९ : ५२
चितवनमा पहिलो पटक ट्राफिक जरिवाना भुक्तानी बैङ्किङ प्रणालीबाट सुरु

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका कार्यलयले लिने जरिवाना बैंकिङ प्रणालीमार्फत लिन सुरु गरेको छ । जरिवाना बुझाउनुपर्ने सवारी साधनका चालकले चितवनमा रहेको ग्लोबल आईएमई बैंकको शाखामा जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । 

जरिवाना बुझाउनका लागि ट्राफिक प्रहरी कारबाहीका परेका सवारी साधनका चालकले प्राप्त भएको ट्राफिक जरिवाना सम्बन्धी चिट  लिएर जिल्लास्थित ग्लोबल आइएमई बैंकका १३ वटा मध्ये जुनकुनै शाखामा गई त्यहाँ रहेको ट्राफिक जरिवाना सम्बन्धी भौचर भरेर चिटमा उल्लेख भए बमोजिमको जरिवना रकम तिर्न सक्नेछन् । 

उक्त भौचर लिएर कारबाहीमा परिएको  स्थान नजिकको ट्राफिक अफिसमा गइ आफ्नो सवारी कागजपत्र लिन सकिनेछ । मादक पदार्थ सेवन र लेन सम्बन्धी कारबाहीमा परेका कागजपत्र लिनु अघि ट्राफिक नियम सम्बन्धि सचेतना कक्षा अनिवार्य रुपमा लिनुपर्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले उक्त कार्यको शुभारम्भ गरेका हुन् । 

कार्यक्रममा वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइराला, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, कोष तथा लेखा नियन्त्रकको कार्यालय चितवनका प्रमुख महेन्द्र भण्डारी, ग्लोबल आईएमई बैंक लिमिटेड शहीदचोक शाखाका प्रबन्धक नारायण प्रसाद पौडेल, सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेललगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस