मगर सँस्कृति चिनाउन आयो नेपाली चलचित्र मिर्ही (भाग्य)

सफल खबर संवाददाता

बुधबार, ०५ फागुन २०७७, १५ : ०१
मगर सँस्कृति चिनाउन आयो नेपाली चलचित्र मिर्ही (भाग्य)

तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । मगर सँस्कृति चिनाउन रफ्तार मिडिया प्रालिको प्रस्तुति मिर्ही (भाग्य) चलचित्र निर्माण भएको छ । चलचित्र निर्माण युनिटले बुधबार भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी यस चलचित्रबारे जानकारी दिनुका साथै ट्रेलर सार्वजनिक गरेको छ ।

पत्रकार भेटघाट कार्यक्रमको अध्यक्षता गरेका यस चलचित्रका लेखक, निर्देशक, निर्माता एवं नायक रमेश राना मगरले नयाँ पुस्तालाई मगर सँस्कृतिबारे जानकारी होस् भन्ने उद्देश्यले चलचित्र निर्माण गरिएको बताए । ‘चितवनमा पनि मगर कलाकार छन् भन्ने देखाउन फिल्म बनायौं’ उनले भने, ‘चितवनमा ४४ वटा गुठी छ मगर समुदायको । हाम्रो लक्षित दर्शक उनीहरु नै हुन् ।’ 

नेपाली भाषामा भएकोले अन्य दर्शकले पनि चलचित्रबाट मनोरञ्जन प्राप्त गर्ने उनको भनाइ छ । उनका अनुसार १४ लाख रुपैयाँ लगानी गरेर बनाइएको चलचित्र १ घण्टा ३८ मिनेटको छ ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघ, चितवनका अध्यक्ष खिम बहादुर थापा मगरले मगर संस्कृति उजागर गर्न र संरक्षण गर्न यो फिल्मले सहयोग गर्ने आशा व्यक्त गरे ।

फिल्मका निर्मातामध्ये एक तुलमान गुरुङले मिर्ही (भाग्य) मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र भएको जानकारी दिए । यस चलचित्रलाई पछि मगर भाषामा पनि डब गर्ने योजना रहेको उनले सुनाए । यस चलचित्रमा छायांकन र सम्पादन घना गुरुङको रहेको छ ।

पत्रकार भेटघाट कार्यक्रममा अर्का निर्माता ईश्वर रानाले स्वागत मन्तव्य र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय सदस्य राजु चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित कलाकारहरुले मिर्ही (भाग्य) चलचित्रमा काम गर्दा रमाइलो अनुभव भएको सुनाए ।

प्रतिक्रिया दिनुहोस