यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

रासस

मंगलबार, ०१ बैशाख २०८३, १२ : ५५
यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो । गत वर्ष प्रदर्शन भएका चलचित्रले घरेलुबजारमा दर्शकको राम्रो साथ पाए । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष स्वदेशी चलचित्र ५७ वटा प्रदर्शन भए । 

चलचित्र विकास बोर्डअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (सिनेपा २ बक्सअफिस)को तथ्यांकअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको चलचित्र ‘परान’ ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ कमाइ गर्दै घरेलुबजारमा सर्वाधिक कमाइ गर्ने स्वदेशी चलचित्र बन्यो । प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा न्यून कमाइ गर्ने चलचित्र ‘इन्दिरा धिमे मैचा’ बन्यो । उक्त चलचित्रले कूल ११ हजार ७०० रुपैयाँ मात्र कमाइ गरेको तथ्यांक उल्लेख छ । 

गत वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्र ‘परान’ का लागि कूल छ लाख ३० हजार ६९१ प्रति टिकट बिक्री भएको थियो । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले विशेषतः परिवारलाई दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सफल भएको थियो । 

त्यसैगरी गत वर्ष सर्वाधिक कमाइ गर्ने सूचीको दोस्रो स्थानमा चलचित्र ‘आ बाट आमा’ रहेको छ । उक्त चलचित्रका लागि पाँच लाख चार हजार ३२९ प्रति टिकट बिक्री हुँदा १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ कमाइ गरेको छ । 

निर्देशक चन्द्र पन्तले निर्देशन गरेको उक्त चलचित्रमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् । आमा र छोराबीचको कथा देखाइएको चलचित्र हालसम्म पनि नेपालका केही चलचित्र भवनमा प्रदर्शनरत छ । 

गत वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा तेस्रो स्थानमा ‘जेरी अन टप’ रहेको छ । सगरमाथा आरोहण र प्रेम कथा देखाइएको उक्त चलचित्रले नेपालको सुन्दरतालाई चित्रण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस