उच्च करले इन्धन अचाक्ली महँगो, खरिद मूल्य ५४ त्यसमा कर ५५ रूपैयाँ

बुधबार, ०५ फागुन २०७७, ०८ : ०३
उच्च करले इन्धन अचाक्ली महँगो, खरिद मूल्य ५४ त्यसमा कर ५५ रूपैयाँ

काठमाडौँ । पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको भाउलाई प्रभावित गरेको छ । हाल नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल प्रतिलिटर ५३ रुपैयाँ ९७ पैसामा खरिद गरेको छ ।

यसमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) सहित सम्पूर्ण राजस्व करिब ५५ रुपैयाँ लिन्छ । ‘सर्वसाधारणलाई महँगो हुनुको मुख्य कारण नै चर्को राजस्व हो,’ निगमका एक उच्च अधिकारीले भने, ‘यो कर हामीले लिने होइन । सरकारको खातामा जान्छ ।’ निगमका अधिकारीले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ हुँदा त्यसैअनुसार समायोजन गर्नु आफूहरूको बाध्यता रहेको बताए । अहिले निरन्तर मूल्य बढिरहेको छ । आयल निगमद्वारा जारी विज्ञप्तिमा मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निगमले मूल्य बढाउँदा पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ८२ पैसा नोक्सान नै छ ।’ आईओसीले फेब्रुअरी १६ मा पठाएको नयाँ मूल्यअनुसार समायोजन गर्दा निगमले मंगलबार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको आन्तरिक मूल्य बढाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो ।

निगमका अनुसार खरिद मूल्य र कररराजस्व जोड्दा पेट्रोलको मूल्य करिब १ सय ९ रुपैयाँ हुन्छ । उक्त मूल्यमा व्यवसायीलाई ढुवानी भाडा प्रतिलिटर ४ रुपैयाँ ६४ पैसा, विक्रेतालाई मुनाफा प्रतिलिटर ४ रुपैयाँ ४९ पैसा दिनुपर्छ । निगमको खर्च १ रुपैयाँ ७४ पैसा जोड्दा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १९ रुपैयाँ ८२ पैसा पुग्ने ती अधिकारीले बताए । यसअघि २०७५ असोज २ गते पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ निर्धारण गरिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस