काँग्रेस सभापति देउवाको भूमिका किन सधै अनुदार ?

सफल खबर संवाददाता

बुधबार, ०५ फागुन २०७७, ०७ : ४०
काँग्रेस सभापति देउवाको भूमिका किन सधै अनुदार ?

काठमाडौं । पार्टीभित्रकै चौतर्फी दबाब थेग्न नसकेपछि अनुदार अनुहार देखाईरहेका काँग्रेस सभापति शेरबहादुरले काठमाडौं लगायतका मुख्य शहरहरुमा पार्टीको तर्फबाट शक्ति प्रर्दशनको निर्णय लिने योजना बनाएका छन्,यसको निर्णय सम्भवतः आज बस्न लागेको केन्द्रीय समितिले तय गर्नेछपूर्नस्थापना की चुनाव भन्नेमा सभापतिले नै दोधारे राजनीति समातेपछि काँग्रेस नेतृत्व लोकतान्त्रिक र प्रजातान्त्रिक मूल्य–मान्यता उठाउने दलको कोटीबाट च्यूत हुन पुगेको छ । 

प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलन, संविधानवादको रक्षा र असम्वैधानिक कदमको डटेर विरोधका सवालमा देउवाको अनुहार अनुदारवादी नेताको छविमा रुपान्तरित हुदैछ । सभापति देउवाले ओलीको कदमलाई असम्वैधानिक भनी टोपलेपनि त्यसलाई सम्वैधानिक ट्रयाकमा ल्याउने आन्दोलनको नेतृत्व गर्न अनिच्छा देखाउन थालेपछि ओलीलाई थप संविधानमाथी प्रहार गर्न बल पुग्दै गएको छ । प्रजातान्त्रिक, लोकतान्त्रिक र संसदीय ब्यवस्थाको रक्षक दाबी गर्ने काँग्रेस सभापतिले नै ओलीको असम्वैधानिक कदममा देखाएको मौनताको अर्थ सत्तासँगको लेनदेन र साँठगाँठको सम्बन्ध हो । सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पछिल्लो समय बढ्दै गएको निकटता त्यसैको घोतकका रुपमा चित्रित हुन थालेको छ । 

यसले काँग्रेसलाई भने राजनीतिक आन्दोलनको नेतृत्व गर्ने अवसरबाट बिमुख बनाउँदै लगेको छ । कम्युनिष्ट पार्टी एउटै रहदा पनि ओलीसँग साँठगाँठ गरेर आफ्नो प्रतिपक्षी चरित्र गुमाएको आरोप देउवामाथी थियो । उनले सरकारसँग केही थान नियुक्ति र भागबन्डामा आफ्नो प्रतिपक्षी चरित्र साटेको आरोप लागेको थियो । अहिले ओलीको असम्वैधानिक कदमका विरुद्ध आन्दोलन भन्दा नहुने चुनावको रटानमा देउवा लाग्दा उनी संविधानको रक्षार्थ भईरहेको आन्दोलनबाट सर्वमान्य नेता हुने अबसरवाट ओझेल परेका छन् । काँग्रेसमै गिरिजाप्रसाद कोइरालाले असम्वैधानिक राजाको कदमका विरुद्ध माओवादी विद्रोहीसम्मलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने राजनीतिको नेतृत्व गरेर सबैका नेता बन्ने अवसरको सदुपयोग गरेका थिए ।

कोइरालाका अनेक खात माथी खात लागेको गल्तीलाई पनि उनको त्यही एउटै लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेबाट पखालिन पुगेको थियो । जिन्दगीभर आलोचना खेपेपनि जीवनको पूर्वाध समयमा गिरिजाप्रसाद कोइरालाले सवैको दिलदिमागमा रहने गरी लोकतान्त्रिक आन्दोलनको नेतृतव गरेर जीवन बिसाए । इतिहासमा आफुलाई सधै सम्झिइरहनुपर्ने नेताको कोटीमा आफुलाई स्थापित गरेर गए । तर देउवाले त्यही गिरिजाले अर्जेको काँग्रेसको लोकतान्त्रिक चरित्रलाई भुलेका छन् । लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका गिरिजाप्रसाद कोइराला, गणतन्त्र घोषणाको नेतृत्व गरेका गिरिजा र संविधान निर्माणको नेतृत्व गरेका सुशिल कोइरालाको बिडो थाम्न आईपुगेका देउवाले भने आफ्ना अग्रज सभापतिहरुको बिडो सम्म थाम्न सकेका छैनन् । 

लोकतन्त्रमाथी सिधै प्रधानमन्त्रीले धावा बोल्दा र सम्वैधानिक निकायसम्म सम्पूर्ण रुपमा आफ्नो सेटिङको चाँजोपाँजो मिलाउदा सम्म देउवा भने भूलभुलैयामै रमाईरहेका छन् । देउवालाई अहिले लागेको छ,– ओलीको प्रतिनिधीसघा विघटनले नेकपा विभाजित छ । यो बेला चुनाव भएमा आफ्नो पार्टी पहिलो पार्टी बन्नेछ । आफ्नै सभापतित्व कालमा पहिले चुनावमा पार्टीलाई पहिलो बनाउन सकिए त्यसपछि माहाधिवेशन गरेर फेरि एक कार्यकाल सभापति बन्ने, प्रधानमन्त्री पनि बन्ने आफ्नो लागि भाग्योदय चिट्ठा लाग्नेछ ।

त्यही सपना देखेका देउवाले अहिले पूर्नस्थापनाको आन्दोलनको नेतृत्व गर्ने गरी अगाडी जानुभन्दा निर्वाचन रोजिरहेका छन् । नेकपाको प्रचण्ड नेपाल समुह, जसपाको उपेन्द्र, महन्थ र डा. बाबुराम भट्टराई सम्मका नेताहरुको नेतृत्व गरेर आन्दोलनको नेतृत्व सम्हाल्ने अवसर देउवाका लागि थियो । तर उनले त्यो अवसर गुमाएका छन् । तर प्रतिनिधीसभा विघटन देखि पार्टीको बहुमत पक्षलाई समेत पार्टीको आधिकारिकता, चुनाव चिन्ह नदिन निर्वाचन आयोग सम्म ओलीले मिलाईरहेको सेटिङले काँग्रेसलाई र त्यसमा पनि देउवालाई सजिल्यै चुनावबाट देशको तालाचाबी बुझाउलान् भन्ने भ्रम नपाले पनि हुने देखिन्छ ।

ओलीले एक त वैशाखमा चुनाव नै गराउँदैनन् । उनले चुनाव गराउनका लागि घोषणा गरेका पनि होइनन् । वैशाखमा चुनाव हुन सक्ने अवस्था पनि छैन् । ओलीले असार ४ भित्र चुनाव गराउन नसके देश सम्वैधानिक जटिलतामा फस्ने छ । यो बुझदा बुझदै पनि किन देउवा प्रतिगमनका विरुद्धको आन्दोलनको लिड गरेर नेकपाकै प्रचण्ड नेपाल समुहसँग संयुक्त आन्दोलनमा जान रुचाईरहेका छैनन् ? प्रश्न गम्भिर रुपमा उठेको छ । काँग्रेसभित्रै पनि उनलाई ओलीको कदम प्रतिगमन हो भन्न बाध्य पार्ने काम भईरहेको छ । तर काँग्रेस जस्तो सम्वैधानिक , लोकतान्त्रिक पार्टीले समेत ओलीको असम्वैधानिक कदम पहिले सच्याउने तिर नेतृत्व नगरी चुनावी रटान लगाईरहेको देख्दा भने काँग्रेसकै रामचन्द्र पौडेल पक्षधर नेताहरु भने अचम्ममा परेका छन् ।

उनीहरु ओलीसँग देउवाको किन यति विघ्न साँठगाँठ चलिरहेको छ भन्नेमै आश्चर्यमा पर्न थालेका छन् । उनले असम्वैधानिक रुपमा नियुक्ति गरिएका सम्वैधानिक अंगमा आफ्नो भागवन्डा खोजे । ओलीले देउवालाई समेत केही भागबन्डा लगाईदिए । त्यही भएर पनि देउवा ओलीका असम्वैधानिक कदममा दरो गरी खुट्टा टेकिरहेका छैनन् । काँग्रेस निकट विश्लेषक पुरञ्जन आचार्य केही अपवादलाई छाड्ने हो भने कांग्रेस नेतृत्व र उनका वरिपरि रहेकाहरू ओलीका बढी सहयोगी देखिएका छन् । ‘कोभिड–१९ को विषय होस् या कालापानी र लिम्पियाधुराको सीमा विवादको विषय होस्, सरकारका मान्छेले भन्दा शेरबहादुर र उनका मान्छेले बढी सत्तालाई सहयोग पु¥याएका थिए ।

अहिले असम्वैधानिक कदम चाल्दा सम्म देउवाले नै मौनता साधेर ओलीको प्रतिगमनलाई साथ दिईरहेका छन् । बाहिर देखाउन विरोध गरेजस्तो तर भित्री रुपमा लोकतान्त्रिक र प्रजातान्त्रिक, सम्वैधानिक चरित्रलाई नै भुलेर गोटी मात्र बनेजस्तो देउवाको चरित्र देखा पर्न गएको छ ।’ आचार्य भन्छन्, ‘यतिबेला काँग्रेसले हरेक विषयमा विकल्प सोचेर अघि बढ्नुपर्ने हो तर सरकारको पछिपछि हिँडेको छ । न जनताको दुःख र पीडामा उभिन सकेको छ, न त सरकारको बेथिति र अपरिपक्व, अलोकतान्त्रिक, असम्वैधानिक निर्णय विरुद्ध आफूलाई दरो गरी उभ्याउन सकेको छ ।’ 

काँग्रेसमा एकातिर पार्टीको महाधिवशेनको आफ्नै खालको समस्या छ । नेतृत्व कसले कुन वातावरणमा कसरी हत्याउने भन्ने झगडा पनि छ । फागुन ७ मा महाधिवशेन गर्ने भनेर कार्यकाल थप गरेको देउवा नेतृत्वले अव सम्वैधानिक रुपमा मात्र म्याद थप गर्न पाउँछ । त्यसका बारेमा निर्णय लिन आज केन्द्रीय समितिको बैठक समेत बस्दैछ । देउवा भदौंमा महाधिवेशन सार्ने पक्षमा छन, तर पौडेल पक्ष जेठमा गर्नुपर्ने पक्षमा छ । यो रस्साकस्सीमा काँग्रेस अलमलिदा ओलीले भने सत्ताको डाडुपन्युले आफ्नो शक्ति उन्माद असम्वैधानिक रुपमा जताततै प्रयोग गर्न र कब्जाको रणनीतिमा जान थालेको छ । 

ओली निरंकुश बन्दै गए देउवाको सपनामा समेत धक्का लाग्ने उनले बझुनुपर्ने हो । त्यसका लागि भएपनि संविधानवादको पक्षमा काँग्रेसले आन्दोलनको लिड गर्नुपर्ने हो । तर काँग्रेस नेतृत्व किन चुकिरहेको छ ? यो प्रश्न काग्रेसकै नेता कार्यकर्ता देउवातिर हेरेर सोध्न थालेका छन् । देउवाको अनिच्छाका बीचमै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको दबाब उनी माथी उत्तिकै छ । काँग्रेसमा ठूला शहरहरुमा आफ्नो तर्फबाट पनि ओलीको प्रतिगमनका विरुद्ध शक्ति प्रर्दशन गर्ने दबाब परेको छ । सम्भवत आजको केन्द्रीय समिति बैठकले काँग्रेसले काठमाडौं लगायतका स्थानमा शक्ति प्रर्दशन सहितको जनसभा गर्ने गरी निर्णय लिन सक्नेछ । देउवालाई दबाब परेको छ । उनले यो निर्णय भने लिन सक्ने सम्भावना छ ।
 

प्रतिक्रिया दिनुहोस