प्रदेश नं २ सरकारको तीन वर्ष पूरा

रासस

मंगलबार, ०४ फागुन २०७७, ११ : ५८
प्रदेश नं २ सरकारको तीन वर्ष पूरा

जनकपुर । प्रदेश नं २ सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारले आफ्नो तीन वर्षको कार्यप्रगति विवरण सोमबार सार्वजनिक गरेको छ । तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं २ संसदीय दलका नेता लालबाबु राउतको नेतृत्वमा विसं २०७४ फागुन ३ गते वर्तमान सरकार बनेको थियो । तीन वर्षको अवधिमा सरकारले गरेको कार्यप्रगतिको प्राथमिकतामा सङ्घीय प्रणाली कार्यान्वयनका लागि सङ्घीय सरकारविरुद्व गरेको मुद्दा मामिलालाई समेत दर्शाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनकपुरधाममा आयोजना गरेको प्रदेश सरकारको तीन वर्षको उपलब्धि सार्वजनीकरण समारोहमा मुख्यमन्त्री लालबाबु राउतले सरकारको यस तीन वर्षको कार्यकालमा प्रदेश सरकारले सङ्घीयता संस्थागत गर्नका लागि कानून निर्माण, भौतिक संरचना र मानवीय विकासका साथसाथै शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए । उनले यस अवधिमा ४३ वटा कानून निर्माण गरिएको र ३६ कानून निर्माणका लागि प्रक्रियामा रहेको जानकारी दिए ।

मुख्यमन्त्री राउतका अनुसार प्रदेश सरकारले सङ्घीयतालाई संस्थागत गर्न कानून निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । उनले लक्षित वर्गमैत्री कानून निर्माण गरी विभेदरहित समतामूलक र सुशासित प्रदेश निर्माणको कामलाई अगाडि बढाइएको बताए ।

यस अवधिमा प्रदेश सरकारले मानव सूचकाङ्कको दृष्टिकोणले शिक्षा, स्वास्थ्य र कनेक्टिभिटीको सवालमा निकै नै पछाडि परेको प्रदेश २ मा शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई दोस्रो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ । गुणस्तरीय शिक्षा प्रवाहका लागि आठवटै जिल्लाका प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा एउटा प्राविधिक विद्यालय निर्माणका साथसाथै एउटा नमुना विद्यालय निर्माणको कामलाई अगाडि बढाएको छ । पूर्वाधार नभएको विद्यालयमा पूर्वाधार निर्माण गर्नुका साथै स्थानीय सरकारसँगको समन्वयमा विद्यालयमा विषयअनुसारको शिक्षक दरबन्दी कायम गर्ने अभियान अगाडि बढाइएको छ ।


 

प्रतिक्रिया दिनुहोस