कर्णालीमा पहिलो चरणमा छुटेकालाई कोरोना खोप लगाइँदै

रासस

आइतबार, ०२ फागुन २०७७, १३ : ०३
कर्णालीमा पहिलो चरणमा छुटेकालाई कोरोना खोप लगाइँदै

कर्णाली। कर्णालीमा पहिलो चरणमा कोरोना खोप लगाउन छुटेकालाई आज लगाउन थालिएको छ । स्वास्थ्य सेवा निर्देशनालयले पहिलो चरणमा छुटेका लक्षित व्यक्तिलाई प्रदेशका १२ वटै केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाइएको जनाएको छ ।

कर्णालीमा पहिलो चरणमा पहिचान गरिएका दुई हजार ३६० जनाले विभिन्न कारणले खोप लगाएका थिएनन् । प्रदेश स्वास्थ्य निर्देशक डा रबिन खड्काले छुटेकालाई दोस्रो चरणको अभियानअन्तर्गत पहिलो दिन अर्थात् आज खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिए । उन्का अनुसार दोस्रो चरणका लागि २० हजार जनालाई पुग्ने खोप माग गरिएको छ ।

“पहिलो चरणमा मौज्दात रहेको खोप लगाउँदैछौँ, केन्द्रबाट आइपुगेको छैन्”, निर्देशक डा खड्काले भन्नुभयो, “दुई मात्रामा लगाउनुपर्ने हुँदा मौज्दात छ, तत्काल मौज्दात रहेकै खोप लगाउँछौँ ।” दोस्रो चरणमा खोप केन्द्र पनि बढ्ने बताइएको छ । जनशक्तिको व्यवस्थापन गरेर स्थानीय तहसम्म पुगेर खोप अभियान सञ्चालन गरिने  छ ।

कर्णालीमा पहिलो चरणमा नौ हजार ४२० जना अर्थात् ८२ प्रतिशतले मात्र यो खोप लगाएका थिए । पहिलो चरणमा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी तथा सरसफाइकर्मी, एम्बुलेन्स चालक, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाउने व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया दिनुहोस