प्रदेश सरकारको काम उत्कृष्ट छ: मुख्यमन्त्री डोरमणि पौडेल

पत्रपत्रिकाबाट

शुक्रबार, ३० माघ २०७७, ०९ : ४२
प्रदेश सरकारको काम उत्कृष्ट छ:  मुख्यमन्त्री डोरमणि पौडेल

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धेरै समस्या, अभाव र प्रतिकूलताबीच प्रदेश सरकारले उत्कृष्ट काम गरेको दाबी गरेका छन् । प्रदेश सरकारको तेस्रो वर्ष पूरा गरेको अवसरमा बिहीबार हेटौंडामा आयोजित विशेष कार्यक्रममा उनले असहयोग धेरै भए पनि सरकारले सफलता हासिल गरेको बताए । 

‘प्रदेश सरकारले गरेको कामबाट जनता निरास हुनुपर्ने कुनै कारण छैन,’ उनले थपे, ‘प्रदेश सरकारको अभ्यास नयाँ भए पनि धेरै क्षेत्रमा उत्कृष्ट काम गरेको छ ।’ कार्यक्रममा अतिथि र सहभागीका लागि राखिएको कुर्सी खाली भएको देखाउँदै मुख्यमन्त्री पौडेलले आफ्नै दल र सरोकारवालाले सहयोग नगरेको जिकिर गरे ।

‘यो कार्यक्रममा पनि धेरै कुर्सी खाली छ, यसैबाट अनुमान लगाउन सकिन्छ प्रदेश सरकार कत्ति चुनौतीमा छ’, उनले भने, ‘हामी सरकार सबै खाले चुनौती सामना गर्दै देशभरमा राम्रो काम गर्ने प्रदेश भएका छौं ।’ सरकारको तीन वर्षे सफलताको कथा समेटिएको पुस्तक विमोचन गरिएको कार्यक्रममा उनले सुशासनको क्षेत्रमा पनि धेरै काम गरिएको तर्क गरे ।

प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले अन्य प्रदेशभन्दा वाग्मती प्रदेश सरकारले नमुनालायक काम गरेको बताए । सभामुख सानुकुमार श्रेष्ठले ३ वर्षमा प्रदेशमा ५९ वटा कानुन निर्माण गरिएको भन्दै अब काम गर्न कानुन अभाव नभएको बताए । 

कार्यक्रममा नेपाल कम्युस्टि पार्टी नेकपा दाहाल–नेपाल पक्ष र नेपाली कांग्रेसका प्रदेश सांसदहरूको भने उपस्थिति थिएन । कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रदेश मन्त्रालयहरूका कर्मचारी, सामाजिक संस्था तथा ब्यक्तिहरूलाई सम्मान गरिएको थियो ।नागरीक दैनिकमा खबर छ । 
 

प्रतिक्रिया दिनुहोस