वाग्मती सरकार गठनको तीन वर्षः विकासमा ठूलो फड्को

रासस

विहीबार, २९ माघ २०७७, १४ : ५०
वाग्मती सरकार गठनको तीन वर्षः विकासमा ठूलो फड्को

काठमाडौं । वाग्मती प्रदेश सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । आजभन्दा तीन वर्ष अघि माघ २९ गते मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा देशकै पहिलो प्रदेश सरकारको रुपमा वाग्मती प्रदेश सरकार गठन भएको थियो ।

सरकारले तेस्रो वार्षिकोत्सव मनाइरहँदा प्रदेश सभामा भने मुख्यमन्त्री पौडेल विरुद्ध आफ्नै दलका प्रदेशसभा सदस्यले दर्ता गराएको अविश्वासको प्रस्तावमाथि  छलफलको तयारी भइरहेको छ । आगामी फागुन ५ गतेका लागि प्रदेशसभा बैठक बोलाएको छ । प्रस्ताव दर्ता गर्ने समूह ५ गते नै प्रस्तावमाथिको सम्पूर्ण कारवाही थालेर चाँडोभन्दा चाँडो मुख्यमन्त्री पौडेललाई पदमुक्त गराउन हतारिएको छ भने मुख्यमन्त्री पौडेल नेपाली कांग्रेससँगको सहकार्यमा प्रस्तावलाई फेल गराउने तयारीमा छन् । 

विसं २०७४ माघ २९ गते देशकै पहिलो प्रदेश सरकारकोरुपमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल तत्कालीन नेकपा एमाले हाल नेकपाका संसदीय दलका नेता पौडेलको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । सरकार गठन भएको झण्डै दुई वर्षपछि विसं २०७६ पुस २७ मा प्रदेश सभामार्फत साविकको अस्थायी राजधानी रहेको हेटौँडालाई नै स्थायी राजधानी र साविकको प्रदेश नम्बर ३ लाई वाग्मती प्रदेशकोरुपमा नामाकरण गरिएको थियो ।

 सरकार गठनपछिको तीन वर्षको अवधिमा १०६ पटक पुस मसान्त सम्ममा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेको छ । यो अवधिमा बसेका बैठकमा ४६३ निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । एकातिर प्रदेश सरकार गठनपछि विकासमा फड्को मार्ने, रोजगारीका अवसर सिर्जना हुने तथा सरकारसँग नागरिकको प्रत्यक्ष पहुँच हुनेलगायत जनताका अपेक्षा, अर्कोतिर राजनीतिक, प्रशासनिक, ऐन कानून एवं स्रोत र साधनको सीमितताको सामना गर्दै अगाडि बढेको प्रदेश सरकारको तीन वर्ष पक्कै पनि सहज हुनसकेन । तीन वर्षको अवधिलाई केलाउँदा प्रदेश सरकारले केही काम गरेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस