प्रचण्ड–नेपाल सभाका यस्ता छन् तीन सन्देश

पत्रपत्रिकाबाट

विहीबार, २९ माघ २०७७, ०७ : २२
प्रचण्ड–नेपाल सभाका यस्ता छन् तीन सन्देश

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले संसद् विघटनमार्फत संविधानको हत्या गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई खतरामा पारेको आरोप लगाएको छ ।  

बुधबार राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संविधान मिच्ने, लोकतन्त्रको हत्या गर्ने र जनअधिकार कुल्चनेलाई जनताले ललकार्ने बताउँदै ओली लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्रको भएको आरोप लगाएका हुन् ।

उनीहरूले विरोध सभामार्फत लोकतन्त्र, संविधान र स्वतन्त्रताको रक्षाका लागि आफूहरू सडकमा आएको जनाउ दिएका छन् । ‘यो कुनै पदको लडाइँ होइन, कसैलाई प्रधानमन्त्री बनाउने वा कुर्सीको लडाइँ होइन । यो केपी प्रवृत्तिविरुद्धको लडाइँ हो, लोकतन्त्र, संविधान र स्वतन्त्रता रक्षाको लडाइँ हो’, दुवै अध्यक्षले भने ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानको हत्या गरेको तथा प्रतिगमनमार्फत निरंकुश शासन गर्न खोजेको आरोप लगाउँदै दुवै अध्यक्षले ओली प्रवृत्ति कहाँबाट जन्म्यो, हुक्र्यो, त्यसबारे आत्मसमीक्षा गर्ने उद्घोष गरे ।

दुवै अध्यक्षले संसद् पुनस्र्थापनाको विकल्प नभएको र संसद् पुनस्र्थापना नभए नेपाली जनताले ठूलो आन्दोलन गर्ने चेतावनीसमेत दिए । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस