द भ्वाइस अफ नेपाल हुने

बुधबार, ०७ चैत्र २०७४, १२ : ४९
द भ्वाइस अफ नेपाल हुने

नेपालमा पनि विश्व चर्चित गायन रियालिटी सो ‘द भ्वाइस’को फ्रेन्चाइज आयोजना गरिने भएको छ । ‘द भ्वाइस अफ नेपाल’ असारबाट प्रसारण सुरु हुनेछ । सोको निर्देशन नेपाल आइडलका निर्देशक लक्ष्मण पौडेलले गर्नेछन्।

विश्वका १ सय ९१ देशमा प्रसारण हुने द भ्वाइसको फ्रेन्चाइजले गायनमा नयाँ प्रतिभा खोजीमा निकै प्रगति गरेको बताइन्छ । द भ्वाइस अफ नेपाल पनि अन्तर्राष्ट्रियस्तरको हुने दाबी आयोजकको छ । सोको निर्णायकमा गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा छन् । सुशील नेपालले होस्ट गर्ने सोका शीर्ष विजेताले २५ लाख नगद, एउटा कार तथा २० लाख रुपैयाँ बराबरको भिडियो एल्बम प्रकाशन तथा वल्र्ड टुरको अवसर पाउनेछन् ।

द भ्वाइस अफ नेपालसम्बन्धी एप्लिकेसनसमेत सार्वजनिक गरिएको छ । एप्लिकेसनले अडिसन दिने प्रतिभाहरूलाई घन्टौँ लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गर्ने दाबी गरिएको छ । प्रतियोगिताको भिडियो द भ्वाइस ग्लोबल नामक अन्तर्राष्ट्रिय भिडियो च्यानलबाट प्रसारण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस