लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री ओली इतिहासमै कलंकित बने : प्रचण्ड

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०७७, १७ : ४५
लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री ओली इतिहासमै कलंकित बने : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै कलंकित बनेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्ति विरुद्ध संविधान, लोकतन्त्र  गणतन्त्रको पक्षमा एकजुट हुन पनि आव्हान गरे ।

पार्टी एकीकरणको समय देखि नै लोकतन्त्र र संविधान विपरित कार्यशैली देखाउदै आएका ओलीले अहिले संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रतिक्रान्तिको बाटोमा हिडेकाले आफुहरु त्यस विरुद्धको संघर्षमा उत्रेको उनले स्पष्ट पारे । उनले संविधान, लोकतन्त्र र गणतन्त्र विरुद्ध गएर प्रधानमन्त्री ओली इतिहासमै कलंकित बन्न पुगेको तर्क गरे ।

उनले भने, “ केपी जीले जसरी प्रतिक्रान्तिको वकालत गर्न थाल्नुभयो । उहाँले बाजी हार्नुभयो । उहाँ कलंकित पनि हुनु भयो इतिहासमा र उहाँले जित्ने कुनै ंसंभावना छैन । हामी जहाँ उभियौ , संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा , शान्ति र सम्मृद्धिको पक्षमा हामी उभियौ । त्यसकारण हामीले लडाई जित्यौ । अब उहाँले एकपछि अर्को हार्नु बाहेक अर्को विकल्प छैन । हामी दह्रो संग उभिँदा हाम्रो जीत कसैले रोक्नै सक्तैन । हामी बिजयी हुन्छौ । ”

अर्का अध्यक्ष माधव कुमार नेपालले प्रधामन्त्रीको समूहलाई चोइटिएको समूहको संज्ञा दिदै ‘ओली बा समूह’ खोल्न सुझाव दिए । प्रधानमन्त्री ओलीलाई आफूहरुले साधारण सदस्यता बाट समेत बर्खास्त गरिसकेकाले उनले नेकपा संग कुनै सम्बन्ध नभएको दाबी गरे ।

उनले भने “चोइटिएको समूह पार्टीको मूल समुह हुन सक्ने कुरा भएन । केपी ओलीलाई अध्यक्षबाट निकालिसकेका छौ । पार्टीको साधरण सदस्यबाट पनि बर्रखास्त गरिसकेका छौ । उनको अब नेपाल कम्युनिष्ट पार्टी नेकपासंग कुनै सम्बन्ध रहेको छैन । उनलाई खोल्ने रहर छ भने नेकपा मन परेको छ भने नेकपा ओली गुट भनेर खोले हुन्छ । नेकपा मन परेको छैन भने अर्कै ओलीवादी समूह खोल्यो भने हुन्छ । ओली बा समूह खोल्दिए सबभन्दा राम्रो । ओली बालाई मन पराउनेहरु उतै जान्छन् । जहाँ नेकपा पार्टी छ , जहाँ हामी छौ त्यहाँ सूर्य चिन्ह आउँछ । अरु कसैले खोस्न सक्तैन ।”

विभिन्न आन्दोलनले सामन्तवादलाई परास्त गरेपनि पुरानै शैलीमा हिड्ने बानी कायमै रहेकाले केपी ओलीले संविधान र लोकतन्त्रमाथि प्रतिगमन गरेको भन्दै उनले आफुहरुको संघर्ष व्यक्ति भन्दा पनि सामन्तवादी प्रवृत्ति विरुद्धको संघर्ष भएको स्पष्ट पारे । उनले अहिलेको संघर्षलाई ओली र आफुहरुबीचको निजी लडाईको रुपमा नलिई ओली प्रवृत्ति विरुद्धको लडाईको रुपमा बुझ्न आग्रह गरे ।

उनले भने, “ अहिलेको लडाई केपी ओली प्रवृत्ति विरुद्धको लडाई हो । केपीको नयाँ नयाँ अवतार चाहिएको छैन । केपीको नयाँ नयाँ अवतार आयो भने के होला यो देशमा ? थिलो थिलो भएर सकिन्छ । अहिले हामी लागेका छौ केपी ओलीको प्रतिगमन विरुद्धको संघर्षमा । संविधान मिच्ने उनका कदमका विरुद्धमा र संविधान मासेर उनले संबैधानिक शासनलाई जसरी चुनौति दिएका छन्, यसले आजसम्म प्राप्त गरेका उपलब्धिहरु तहसनहस हुने खतरा बढेको छ । त्यसैले ती उपलब्धीहरु जोगाउने कुराको पक्षमा जुधिरहेका छौ । केपी ओली र आफूहरुबीचको निजी लडाई नभई यो पार्टी भित्रको लषई मात्रै पनि होइन, नेकपाको अन्तरद्वन्द्व मात्रै पनि होइन । संविधानलाई सम्मान गर्ने र क्षत्विच्छेद पार्ने बीचको लडाई हो ।”

लोकतन्त्र, गणतन्त्र र संविधान कमजोर बनाउने र जोगाउने बीचको संघर्ष भएकाले जसरी पनि आफुहरुले जित्नै पर्ने भन्दै उनले लोकतन्त्र र संविधान रक्षाको पक्षमा एकजुट हुन आव्हान गरे । शिक्षकले विचार निर्माण र प्रवाहमा निकै ठूलो भूमिका खेल्ने भएकाले संविधान रक्षा गरि प्राप्त उपलब्धि जोगाउने बाटोमा विचार निर्माण गर्न पनि उनले आग्रह गरे ।
 

प्रतिक्रिया दिनुहोस