प्रधानमन्त्री ओलीबाट अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन गोष्ठी शुभारम्भ

रासस

आइतबार, २५ माघ २०७७, २० : ५९
प्रधानमन्त्री ओलीबाट अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन गोष्ठी शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले नेपालको “अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्रहरु” विषयक दुई दिवसीय गोष्ठीको आज यहाँ शुभारम्भ गर्नुभएको छ ।

जङ्गी अड्डा तथा सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा सञ्चालन हुने उक्त गोष्ठीको राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष  ओलीले जङ्गी अड्डामा शुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले सीमा सुरक्षा जस्तो गम्भीर तथा महत्वपूर्ण विषयमा हुने आन्तरिक छलफल र विज्ञको सुझावबाट नीति निर्माण एवं सीमाको कुशल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको राष्ट्रिय सुरक्षा नीति, २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना अनुरूप नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्रको पहिचान गरी सरकारलाई सिफारिस गर्ने लक्ष्यसहित उक्त गोष्ठी आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

शान्तिको समयमा एवं द्वन्द्व र असाधारण परिस्थितिमा सीमा व्यवस्थापनका विविध पक्ष र सम्बद्ध  विभिन्न निकायको भूमिका  विषयमा केन्द्रित रही उक्त गोष्ठीमा छलफल हुनेछ । सीमा व्यवस्थापनका अन्तर्राष्ट्रिय प्रचलन, सीमा व्यवस्थापनमा जिम्मेवार राष्ट्रिय निकाय र सीमापारिका समकक्षीसँगको समन्वयलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने तरिका तथा सीमा व्यवस्थापनमा प्रविधिको प्रयोग जस्ता विषय वस्तु छलफलका लागि समेटिने छन् ।

गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापाले शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय सीमा सुरक्षाका विविध पक्षबारे धारणा राख्नुभयो । पहिलो दिन जङ्गी अड्डा तथा दोस्रो दिन सशस्त्र प्रहरी बल, नेपालको मुख्यालय हलचोकमा सञ्चालन हुने उक्त कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सहसंयोजकबाट गोष्ठीको निचोड र सुझावको प्रस्तुतीकरण हुनेछ ।

मुलुकमा पहिलो पटक आयोजना गरिएको उक्त गोष्ठीबाट आउने निष्कर्ष नेपालको अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनका लागि अत्यन्तै महत्वपूर्ण दस्तावेजका रूपमा रहनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनसँग सम्बन्धित सबै मन्त्रालय र निकायबाट विशिष्ट श्रेणीका अधिकृत र उच्च  सैनिक अधिकारी रहनुभएको छ ।