मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो: अर्थमन्त्री पौडेल

रासस

शनिबार, २४ माघ २०७७, १७ : १७
मुलुक निर्वाचनतर्फ अगाडि बढिसक्यो: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन्  ।पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उहाँले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन्  । “निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्”, उनले भने , “तोकिएको समयमा निर्वाचन हुन्छ । तपाईंहरु ढुक्क हुनुहोस् ।”

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरिसकेको छ । नेकपा कम्युनिष्ट पार्टी नेकपाका महासचिवसमेत रहेका उनले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम हो भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको बताए । 

मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट पारे । “केहीले निर्वाचनमा जाने कुरालाई निरङ्कुश भनेर भ्रम फैलाइरहेका छन्”, उनले भने , “निर्वाचनमा जाने कुरा निरङ्कुश हुन्छ  भने लोकतन्त्र भनेको के हो भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु ।” उनले मुलुकमा कुनै समस्या प¥यो र त्यो समस्या समाधान गर्न सकिँदैन भने जनतामा जाने निर्णय नै अन्तिम भएको उल्लेख गरे  । 

अर्थमन्त्री पौडेलले जनताले जसलाई विश्वास गर्छन्, त्यसले नै सरकार सञ्चालन गर्ने हो भन्दै पार्टीबाट अलग भएका साथीहरु निर्वाचनमा जान डराएको धारणा व्यक्त गरे  । “उहाँहरु चुनाव गर्न पाइँदैन भनेर निर्वाचन आयोगलाई धम्क्याउँदै हुनुहुन्छ”, उनले भने , “ निर्वाचनसँग डराएर जुन प्रकारले निर्वाचन रोक्ने चेष्टा गरेका छन्  । ” 

उनले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको स्पष्ट पारे । “कम्युनिष्ट पार्टीप्रति जनताको भर र विश्वास गुमाएर पार्टीलाई चकनाचुर र विभाजन गर्न खोजियो”, उनले भने , “कम्युनिष्ट आन्दोलन गर्न सक्दछन् । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लोकतन्त्रको रक्षाका लागि प्रतिनिधिसभा विघटन गरेको बताउँदै अहिले प्रतिनिधिसभा मात्र विघटन भएको, तर राष्ट्रियसभा, प्रदेशसभा, संवैधानिक अङ्ग र स्थानीय तह क्रियाशील नै रहेकाले संविधानमा कुनै फरक नपरेको स्पष्ट पारे  । 

प्रतिक्रिया दिनुहोस