जापानमा अपराधका घटनामा न्यूनता

एजेन्सी

विहीबार, २२ माघ २०७७, २० : ३८
जापानमा अपराधका घटनामा न्यूनता

काठमाडौं । सन् २०२० मा जापानमा अपराधका घटनामा लगातार छैटौं वर्षसम्म गिरावट देखिएको प्रहरीद्वारा गरिएको एक अध्ययनले देखाएको छ ।

कोभिड–१९ को महामारीको क्रममा धेरै मानिसहरू घरमा बसिरहेका सन्दर्भमा विशेष गरी सडक अपराधमा उल्लेख्य न्यूनता आएको राष्ट्रिय प्रहरी मुख्यालय (एनपीए) ले बिहीबार सार्वजनिक एक रिपोर्ट मा उल्लेख छ ।   

एनपीएको पछिल्लो तथ्याङ्कले घरेलु हिंसा र साइबर अपराधसँग सम्बन्धित परामर्श संख्याको विवरण अध्ययनको अवधिमा उच्च रहेको देखाएको छ ।

जापानमा सन् २०२० मा सम्पूर्ण खालका अपराधको सङ्ख्यामा सन् २०१९ को तुलनामा १७ प्रतिशतको गिरावट देखिएको एनपीएको तथ्याङ्कमा उल्लेख छ ।  सन् २०१९ मा जापानमा कूल छ लाख १४ हजार ३०३ घटना दर्ता भएका जापानी प्रहरीले बताएको छ । 

तथ्याङ्क अनुसार जापानमा सन् २००२ मा अपराधका घटनामा दोस्रो विश्वयुद्धपछि उच्च सङ्ख्या अर्थात् २८ लाख ५३ हजार ७३९ घटना रेकर्ड भएका थिए । जापानमा महामारीका कारण सामाजिक गतिविधिमा आएको कमी पनि अपराधका सङ्ख्या कम हुनुको प्रमुख कारण हुनसक्ने पनि बताइएको छ । 

अपराध कमी हुनुमा महामारीका समय घर र निश्चित समाजमा सीमित बनेका मानिसहरूबीच भएका कतिपय घटनाहरू लुकेको हुनसक्ने र ती घटना महामारीका समय पीडितहरूसँग परामर्श गर्नका लागि भएका कठिनाईका कारण लुकेको हुनसक्ने सरकारी तथ्याङ्कमा उल्लेख छ ।