बर्ड फ्लुको सङ्क्रमणबाट जोगिन चितवनमा सतर्कता, पन्छी र पन्छीजन्य पदार्थको आयातमा रोक

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, १८ : ००
बर्ड फ्लुको सङ्क्रमणबाट जोगिन चितवनमा सतर्कता, पन्छी र पन्छीजन्य पदार्थको आयातमा रोक

चितवन । छिमेकी मुलुक भारतमा र काठमाडौँको केही क्षेत्रमा बर्ड फ्लुको सङ्क्रमण देखिएपछि चितवनमा थप सतर्कता अपनाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनले हालसम्म चितवनमा कतै पनि बर्ड फ्लुको सङ्क्रमण नदेखिएको जनाएको छ । 

केन्द्रका अनुसार छिमेकी मुलुक भारतमा र काठमाडौँको केही क्षेत्रमा बर्ड फ्लुको सङ्क्रमण देखिए पनि पोल्ट्रीको राजधानी मानिएको चितवनमा  बर्ड फ्लुको सङ्क्रमण देखिएको छैन । 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनकाप्रमुख दयाराम चापागाईंले चितवन जिल्ला हालसम्म बर्ड फ्लुको संक्रमणबाट सुरक्षित रहेको बताए । उनले भने, ‘हालसम्म चितवनमा कतै पनि कुखुरा मरेको छैन, कतैबाट बर्डफ्लुको शंकासमेत भएको छैन । थप सतर्कता अपनाएर जिल्लालाई बर्ड फ्लुबाट सुरक्षित राखिएको छ ।’

उपत्यकामै किसानले पालेका हाँस–कुखुरामा बर्ड फ्लु देखिएपछि पशु सेवा विभागले पन्छी र पन्छीजन्य पदार्थको आयातमा रोक लगाएको छ । विज्ञ केन्द्र चितवनले पनि भारतबाट पन्छी र पन्छीजन्य पदार्थको आयातमा रोकलाई प्रभावकारी ढंगले अगाडि बढाएको बताए । प्रमुख चापागाईंले भने, ‘पन्छी र पन्छीजन्य पदार्थको जिल्लामा आयात गर्न दिएका छैनौँ, सुरक्षा निकाय पनि खटिएका छन्, कतै त्यस्तो पन्छी र पन्छीजन्य पदार्थ आयात भएको खण्डमा सूचना दिन भनेका छौँ । पोल्ट्री व्यवसायी यसमा सजग भएका छन् ।’

किसान तथा यससँग सम्बन्धित व्यवसायीले पन्छी पालेको ठाउँको निसंक्रमणमा ध्यान दिन आग्रह गरेको प्रमुख चापागाईंले जानकारी दिए । उनका अनुुसार कुखुरा, अन्य पन्छी अस्वभाविक तवरले मरे तत्काल खबर गर्न पनि सूचना जारी गरिएको छ । 

काठमाडौंको तारकेश्वर–७ फुटुङमा गत शुक्रबार बर्डफ्लु पुष्टि भएपछि चितवनमा थप सतर्कता अपनाइएको हो । उक्त क्षेत्र नियन्त्रणमा लिएर संक्रमण हुन सक्ने पन्छीलाई नष्ट गरिएको थियो । अन्यत्र रोग  फैलिन नदिन सो स्थानमा उच्च सर्तकता अपनाइएको छ । 

यसअघि प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा बसेको जिल्ला बर्ड फ्लु नियन्त्रण समितिको बैठकमा विशेष सावधानी अपनाउन सम्बन्धित किसान तथा व्यवसायीलाई आग्रह गरिएको थियो ।  प्रमुख जिल्ला अधिकारीले भट्टराईले हरेक पोल्ट्री व्यवसायीले आन्तरिक जैविक सुरक्षामा ध्यान दिनु सुझाव दिइएको बताए । 

जिल्लाको सुरक्षा संयन्त्रले पनि विशेष निगरानी गरिरहेको छ । यस रोगका कारण सबैभन्दा बढी व्यवसायीहरु नै पीडित हुने भएकाले उनीहरु थप चनाखो हुनुपर्ने सुझाव जिल्ला प्रशासन कार्यालय चितवनले दिएको छ । भारतसँगको खुला सीमाको असर चितवन जिल्लामा पनि पर्ने भएकाले जिल्लासँग जोडिएका भारतीय नाकाहरुमा विशेष ध्यान दिइएको छ । 

पशुपक्षी क्वारेन्टाइन, पक्षी ढुवानी साधनको कडा निगरानी गरिने डा चापागाईंले बताए । चितवनलाई पोल्ट्रीको राजधानी मानिने भएकाले पनि विशेष चासोका साथ सक्रियता देखाइएको उनको भनाइ छ । दुई वर्षअघि वैशाख अन्तिम हप्ता खैरहनी–६, सुर्तनी र पुरानो पर्सा, बालकुमारी सव्जीमण्डीलगायतका ठाउँमा पालिएको कुखुरा फर्ममा बर्ड फ्लु देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस