काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले मोरङ जिल्लाका दुई स्थानीय तहमा बर्ड फ्लु (एच५एन१) संक्रमण पुष्टि भएको जनाएको छ। विभागका अनुसार नियमित निगरानीका क्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका-५ बाट संकलित कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा शुक्रवार उच्च रोगजन्य एभियन इन्फ्लुएन्जा (एच५एन१) पुष्टि भएको हो।
संक्रमण पुष्टि भएसँगै पशु सेवा विभागले बर्ड फ्लु रोग नियन्त्रण नियमावली, २०७८ बमोजिम तत्काल नियन्त्रण तथा रोकथामका उपायहरू लागू गरिएको जनाएको छ। मन्त्रालयस्तरको निर्णयअनुसार रोग प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण टोली परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा रहेका कुखुरा, अण्डा, दाना, कुखुराजन्य पदार्थ तथा उत्पादन सामग्रीहरूको नष्ट गर्ने र निष्कासनको कार्य अघि बढाइएको छ भने रोग अन्यत्र फैलिन नदिन सम्बन्धित संघ, प्रदेश र स्थानीय तहका निकायहरूलाई समेत सतर्क गराइएको छ।
विभागका अनुसार प्रभावित क्षेत्रका कुखुरा फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारी साधन प्रवेशमा रोक लगाइएको छ र फार्ममा प्रवेश गर्दा अनिवार्य रूपमा निसंक्रमण गेट प्रयोग गरी मात्र प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ। फार्म परिसरभित्र प्रवेश गर्दा सुरक्षात्मक उपाय अपनाउनुपर्ने, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नपाउने र प्रयोग भइसकेका उपकरण तथा सामग्री पुन: प्रयोग नगर्न निर्देशन दिइएको छ।व्यव स्था मिलाउन पनि विभागले निर्देशन दिएको छ।
विभागले मरेका कुखुरालाई सुरक्षित तरिकाले गाड्ने व्यवस्था गर्न, फार्ममा कार्यरत व्यक्तिहरूले व्यक्तिगत सरसफाइमा ध्यान दिन, नियमित रूपमा हात धुने र स्वास्थ्यसम्बन्धी समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरेको छ। साथै, कुखुरा तथा कुखुराजन्य उत्पादनहरूको ओसारपसार गर्दा अनिवार्य रूपमा भेन्टेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ।
विज्ञप्तिमा आकस्मिक रूपमा ठूलो संख्यामा कुखुरा बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा नजिकको पशु सेवा निकायमा तत्काल जानकारी गराउन आग्रह गरिएको छ। विभागले बर्ड फ्लु नियन्त्रणका लागि सम्पूर्ण सरोकारवालालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ चैत्र २०८२, १३ : २०
लेखकबाट थप