‘बर्डफ्लुबाट जोगिन मासु राम्ररी पकाएर खाऔं’

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, ०७ : ४६
‘बर्डफ्लुबाट जोगिन मासु राम्ररी पकाएर खाऔं’

काठमाडौँ । उपत्यकाभित्रै पालेका पन्छीमा बर्डफ्लु संक्रमण पाइएपछि सरकारले मासु र अन्डा राम्ररी पकाएपछि मात्र खान उपभोक्तालाई अपिल गरेको छ । हाँस–कुखुरा पालेकाहरूलाई रुघाखोकीको लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि सूचना जारी गरेको छ । 

काठमाडौंको तार्केश्वर–७ साङ्लेखोला फुटुङका बासिन्दाले पालेका टर्की र हाँसमा गत शुक्रबार बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको थियो । पशु सेवा विभागले शनिबार उक्त क्षेत्र सिल गर्दै त्यहाँका हाँस, कुखुरा, टर्की र बट्टाईसँगै अन्डा र दाना नष्ट गरेको थियो । बर्डफ्लुको भाइरसले चराहरूमार्फत मानव स्वास्थ्यमा असर पार्ने भएकाले फुटुङ र वरपर बसोबास गर्नेहरूलाई सतर्क रहन विभागले सूचना जारी गरेको हो । सर्वाधिक पालिने र किनबेच हुने कुखुरामा भने बर्डफ्लु पाइएको छैन ।

सतर्कता अपनाउँदा मानिसमा सजिलै संक्रमणको जोखिम नभए पनि पन्छीपालक, पोल्ट्री व्यवसायी, मासु बिक्रेता र उपभोक्ता सतर्क हुनैपर्ने विज्ञहरूले बताएका छन् । ‘मानिसमा बर्डफ्लुको संक्रमण भयो भने मृत्यु हुन सक्ने घटना करिब दुई वर्षअघि नै मुलुकमा देखिसकिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘तर संयोगले त्यसताका उक्त संक्रमण एक जनाबाट अर्को देखिएन । तैपनि सबैले स्वास्थ्य सुरक्षाको उपाय अपनाउनु अत्यावश्यक छ ।’

यसअघि देखापरेको बर्डफ्लुले काभ्रेका एक २१ वर्षीय युवकको मृत्यु भएको थियो । कडा प्रकारको रुघाखोकीले ग्रस्त भएपछि उनी २०७५ चैत १० मा काठमाडौंको एक अस्पताल भर्ना भएका थिए । पाँच दिनपछि मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को जापानस्थित प्रयोगशालामा ती युवकको र्‍यालको नमुना पठाउँदा उनलाई बर्डफ्लु ९एच५एन१० को संक्रमण देखिएको पुष्टि भएको थियो । बर्डफ्लुले नेपालमा मानिसको मृत्यु भएको यो पहिलो घटना नै थियो ।

डब्लूएचओका अनुसार प्रयोगशाला प्रमाणित एभियन इन्फ्लुएन्जा ए ९एच५एन१० ले विश्वमा सन् २०२० सम्ममा ८ सय ६२ वटा संक्रमण र ४ सय ५५ मृत्यु भएको तथ्यांक छ । हाल बर्डफ्लु देखिएको स्थान, वरपर मात्र नभई जुनसुकै ठाउँमा पनि मरेका चराचुरुंगी आदिको मासु नखान सल्लाह दिँदै डा। अधिकारीले भने, ‘स्वस्थ चराचुरुंगीको मासुसमेत राम्ररी पकाएर, सम्भव भए प्रेसर कुकुरमा सिट्ठी लगाएर खानु सुरक्षित हुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस