संवैधानिक परिषदको विवादास्पद नियुक्ति सिफारिस सभामुखबाट फिर्ता

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, १७ : ०७
संवैधानिक परिषदको विवादास्पद नियुक्ति सिफारिस सभामुखबाट फिर्ता

file photo

काठमाडौँ । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरिदिएका छन् । 

सभामुख सापकोटाले विभिन्न कारण देखाउँदै नियुक्ति सिफारिस आइतबार संवैधानिक परिषद्मै फिर्ता पठाएका छन् । उनले संसदीय सुनुवाई गर्नसक्ने अवस्था नरहनुका साथै मुल ऐनको दफा ६ को उपदफा (१) र (२) बमोजिम बैठकबारे आफूलाई जानकारी नै नदिई बैठक बसेर निर्णय गरेको, जुन सर्वोच्चले फैसलाविपरित भएको समेत बताएका छन् । संवैधानिक परिषदले गरेको यो नियुक्ति सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बसेको संवैधानिक परिषदको बैठकले अध्यादेशमार्फत विभिन्न संवैधानिक आयोगहरुमा तीन जर्दनबढी पदाधिकारीहरु नियुक्ति गरेर संसद विघटन गरेकै दिन संसद सचिवालयमा सुनुवाईका लागि निवेदन दर्ता गरिएको थियो ।

बिहानै संसद विघटन गरेर दिउँसो सचिवालयमा पत्र दर्ता गराइएको थियो । यसरी पत्र दर्ता गरिसकेपछि ४५ दिन कटाएर आयोगहरुको नियुक्ति सदर गराउने र आफ्ना मानिसलाई भर्ती गर्ने सरकारको नियत देखिएको थियो । तर, अब सभामुखले सो पत्रको सक्कल प्रति नै संवैधानिक परिषदमा फिर्ता पठाइदिएकाले आयोगमा गरिएको भागवण्डाको नियुक्तिमाथि थप प्रश्न उठेको छ ।

सभामुखले संवैधानिक परिषदलाई लेखेको पत्र :

प्रतिक्रिया दिनुहोस