ब्राजिलमा दुई लाख २२ हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु

एजेन्सी

शनिबार, १७ माघ २०७७, १९ : २२
ब्राजिलमा दुई लाख २२ हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु

काठमाडौँ । ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार ६६६ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ । यस महामारीका कारण विगत २४ घण्टामा एक हजार ११९ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

यसैगरी ब्राजिलमा विगत २४ घण्टामा कोभिडबाट थप सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या ५९ हजार ८२६ पुगेको र अहिलेसम्म ब्राजिलमा ९१ लाख १८ हजारभन्दा बढीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

ब्राजिलको बढी जनसङ्ख्या रहेको साओ पाउलो राज्य सबैभन्दा बढी प्रभावित क्षेत्र हो । यहाँ १७ लाख ५९ हजार व्यक्तिमा सङ्क्रमित भएका र ५२ हजार ७२२ व्यक्तिको यसै कारण मृत्यु भएको छ । 

त्यसैगरी अर्को बढी प्रभावित राज्य रियो दि जेनेरियोमा पाँच लाख १६ हजारभन्दा बढी सङ्क्रमित भएका र २९ हजार ५६३ व्यक्तिको मृत्यु भएको छ । अमेरिकापछि विश्वकै बढी कोभिड सङ्क्रमित रहेको मुलुक भारत हो यद्यपि मृत्युका हिसाबले ब्राजिल दोस्रो बढी प्रभावित मुलुक मानिन्छ । 

ब्राजिलको उत्तरी राज्य अम्याजोन्समा देखिएको नयाँ प्रकारको भाइरस फेला परेको र यो पहिलेकोभन्दा सङ्क्रमणका हिसाबले कैयौं गुणा खतरा हुने विशेषज्ञहरूले बताएका छन् । ब्राजिलमा सङ्क्रमण दर उच्च रहेपछि बेलायत, पोर्चुगल, इटाली, कोलम्बिया, टर्की, पेरू र इजरायललगायतका मुलुकले ब्राजिलका लागि अन्तर्राष्ट्रिय उडानलाई अनिश्चितकालका लागि रोकेका छन् । 

प्रतिक्रिया दिनुहोस