ओली श्री ३ बन्न खोजे, धराशायी हुन्छन् : प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०७७, १६ : ५९
ओली श्री ३ बन्न खोजे, धराशायी हुन्छन् : प्रचण्ड

बुटवल । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली श्री ३ बन्न खोजेको आरोप लगाएका छन् । प्रचण्डले श्री ३ बन्न खोजेका ओलीलाई जनताले धराशायी बनाउने बताए ।  

प्रतिनिधिसभा भङ्ग गर्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका विरोधमा आयोजित लुम्बिनी प्रदेशस्तरीय विरोध सभालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘ओलीलाई लुम्बिनीका जनताले धराशायी बनाउने छन्, उनी श्री ३ बन्न खोज्दैछन्, जनताले साथ दिने छैनन् ।’

प्रचण्डले जनताका अगाडि निरंकुशता, प्रतिगमन, असंवैधनिक र अलोकतान्त्रिक स्वेच्छाचारी कदमले घुँडा टेकेको बताउँदै ओलीका पनि अब धेरै दिन बाँकी नरहेको बताए । उनले केपी ओली भन्ने एकजना व्यक्तिको विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न आग्रह गरे । 

‘यो केपी ओली भन्ने एकजना व्यक्तिको विरोधमा आयोजना गरिएको हो भनेर नबझ्नुस् । हामीले गलत विचार, मान्यता, विधि पद्धतिका विरुद्ध, सही विचारको पक्षमा, सत्य, न्याय र स्वतन्त्रता र लोकतन्त्रको रक्षाका निम्ति अपिल गर्न आएका हौँ’ प्रचण्डको भनाइ छ ।
कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनतर्फ जाने प्रयास गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस